काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।
मन्त्रिपरिषद् हेरफेरका लागि उनले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग परामर्शसमेत थालेको बताइएको छ।
कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएइएको भन्दै सत्तारूढ दलका साथै सर्वसाधारणबाट आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन्।
प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै गर्दा आगामी वर्ष सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ। कार्यसम्पादन मूल्यांकनअनुसार बितेको एक वर्षमा केही मन्त्रीको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको प्रधानमन्त्रीको समीक्षा छ।
मन्त्रिपरिषद् हेरफेर हुन लागेको संकेतसमेत प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममार्फत गरिसकेका छन्। गत सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री प्रचण्डले अबको एक वर्ष फरक ढंगले काम गर्न चाहेको बताएका थिए।
एक वर्षपछि अर्कै ढंगले काम गर्न चाहेको र प्रदेश तथा स्थानीय तहलाई बलियो बनाउनका लागि आफू फरक ढंगले काम गर्न खोजेको उनको दाबी थियो।
गत १९ मंसिरमा सार्वजनिक भएको सरकारको तीन महिनाको प्रतिवेदनले सरकारको प्रगति निकै कमजोर देखाएको छ। विभिन्न मन्त्रालयबाट हुनुपर्ने काम सन्तोषजनक नभेटिएपछि मन्त्री, सचिवसहितकै बैठकमा प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि व्यक्त गरेका थिए।
मन्त्रीहरूले भने प्रधानमन्त्री कार्यालयबाटै सहयोग नपाएको, प्रचण्डका सचिवालयका मान्छे मन्त्रालयमै आएर असहयोग गर्नुका साथै आफ्ना स्वार्थनुसारका काम गराउन खोज्ने, गठबन्धन सरकार भए पनि एकल बहुमतजस्तो गर्न खोज्ने लगायतका विभिन्न गुनासो गरिरहेका छन्।
तीनमहिने प्रतिवेदनअनुसार विभिन्न २७ निकायका १ हजार ६ सय क्रियाकलापमध्ये असोजसम्म जम्मा ३ दशमलव ८८ प्रतिशत मात्रै काम भएको छ। पूर्वाधार क्षेत्रमा ५ सय क्रियाकलाप रहेकामा शून्य दशमलव ६ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ३१ दशमलव ८ प्रतिशत काम सुरु नै नभएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी, ३ हजार ४ सय २१ माइलस्टोनमध्ये ८ दशमलव १३ प्रतिशत मात्रै सम्पन्न भएका छन्।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले आगामी १० पुससम्ममा मन्त्रीहरूलाई अनिवार्यबाहेक उपत्यकाबाहिर नजान निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले १० पुसमा विशेष सम्बोधन गर्ने तयारी गरिरहेको र त्यसअघि नै उनले आफ्नो दोस्रो वर्षको कार्यकाल पहिलो वर्षजस्तो नहुने सन्देश दिनेगरी केही नयाँ कदम चाल्न खोजेको बताइएको छ।




















प्रतिक्रिया