Logo

प्रमुख समाचार

राष्ट्रियसभाका २० मध्ये १३ सीट लिन कांग्रेसलाई एमालेकाे ‘अफर’



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेसलाई राष्ट्रियसभा निर्वाचनमा १३ सीट लिन प्रस्ताव गरेको छ। राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० राष्ट्रियसभा सीटमध्ये एमालेले कांग्रेसलाई १३ सीट लिन प्रस्ताव गरेको हो। बाँकी ७ सीट एमालेले लिने प्रस्ताव छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको अनौपचारिक छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष एमालेबाट आएको प्रस्ताव सुनेपछि माओवादी र नेकपा एसका नेताहरू भने झस्किएका छन्।

एमाले र कांग्रेस मिल्दा राष्ट्रियसभाका रिक्त १९ सीटमै अरू दलको सम्भावना हुँदैन। राष्ट्रपतिबाट मनोनीत हुने सीट भने मन्त्रिपरिषद्को सिफारिस बमोजिम मात्र हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै देउवासमक्ष सो प्रस्ताव राखेको जानकारी आफूहरूले पाएको नेकपा एसका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए।

एमालेले राखेको प्रस्ताव कांग्रेसको लागि गठबन्धनबाट प्राप्त हुने सीटभन्दा आकर्षक र लाभदायक भए पनि देउवाले उक्त प्रस्ताव स्वीकार नगरेको कांग्रेस नेताहरूको भनाइ छ ।

गठबन्धनभित्र कांग्रेसले ९ सीट पाउने सम्भावना छ । त्यो भन्दा ४ सीट कांग्रेसकै सांसदको खाली हुँदैछ भने एमालेबाट रिक्त हुने ८ मध्ये कांग्रेसले ५ सीटमा दाबी गरेको छ ।

एमालेको प्रस्ताव मान्दा कांग्रेसलाई कम्तीमा ४ सीट फाइदा हुने अवस्था रहे पनि गठबन्धनको एकता तोड्न नसकिने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताएका छन् । उनले गठबन्धनकै सहमति अनुसार माधव नेपाललाई पनि एक कार्यकाल प्रधानमन्त्री दिनुपर्ने बताए ।

गठबन्धनभित्र माओवादीका ३ सांसद खाली हुँदैछन् उसले थप तीन सीट दाबी गरेको छ । नेकपा एसका २ सीट खाली हुँदैछ भने एमालेबाट रिक्त हुने ८ मध्ये कम्तीमा २ सीटमा दाबी रहेको पाण्डेले बताए।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार २१:१८   :  बजे

594
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।