Logo

प्रमुख समाचार

दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किंदै भारतीय विदेशमन्त्री



काठमाडौं– नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन्।

स्वदेश फर्किनुअघि उनी आज पनि केही महत्त्वपूर्ण भेटघाटमा व्यस्त रहने छन्। नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेटवार्ता गरिसकेका छन्।

बिहीबार साँझ उनले मधेस केन्द्रित तीन दलका शीर्ष नेतासँगसमेत भेटवार्ता गरिसकेका छन्।

उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग भेट गरेका हुन्।

जयशङ्करले शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच चारवटा सहमतिमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका हुन्।

नेपालले बनाएको स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा पनि हस्ताक्षर भएको छ। नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने उल्लेख छ।

यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा नेपालका अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन्।

त्यस्तै भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने सहमति भएको छ। दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन गरेका छन्।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ०८:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।