काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने सिटका लागि पनि सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति जुटेको छ । उक्त सिट राष्ट्रिय जनमोर्चालाई दिने गठबन्धनका दलहरुले सहमति गरेका छन् ।
१९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ । राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्तारुढ दलहरुको बैठक निरन्तर बस्दै आएको छ ।
कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन ।
स्रोतका अनुसार राष्ट्रपतिले मनोनित गर्ने सदस्यबारे पनि सहमति जुटिसकेको छ । यो सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनित गर्ने सहमति भएको हो ।
फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन् ।
पौडेल २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार थिइन् । तर उनी नेकपा एमालेका सूर्य थापासँग पराजित भइन् ।




















प्रतिक्रिया