काठमाडौं । सनराइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि. एक आपसमा गाभिई एलएस क्यापिटलको नाममा मर्चेण्ट बैकिङ्ग कम्पनीका रूपमा एकीकृत कारोबार सुरु गरेको छ ।
एलएस क्यापिटलले कम्पनी रजिस्ट्रारको कार्यालयबाट मङ्सिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि ग्राहकलाई सेवा प्रदान गर्न सुरु गरेको हो ।
आज कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका थिए ।
विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ । दुई कम्पनी गाभिएपछि नवीनतम सेवा सुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।
साथै, मर्जरपछि कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलको छ ।
यस मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात् ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्कासन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्कासन र ५२ वटा शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको कम्पनीको रूपमा परिचय बनाउन सफल भएको छ ।
साथै, कम्पनीले ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरिसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्डसहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आइरहेको जनाएको छ ।




















प्रतिक्रिया