Logo

कोशी प्रदेश

कोशी प्रदेशमा सभामुखका लागि आज निर्वाचन, विष्ट सर्वसम्मत सभामुख बन्ने सम्भावना



विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आज हुने भएको छ । प्रदेशसभाको  कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् ।

सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ । मंगलबार बिहान बसेकाे कार्यव्यवस्था परामर्श समिति बैठकले आजै सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

सभामुखको टुंगो लगाउने विषयमा छलफल गर्न दलहरुको बैठक पनि बसिरहेको छ । सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय यसअघि नै गरेको थियो । गठबन्धनले निर्णय गरेपछि राप्रपाले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेकाे संसदीय दलको बैठकले निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने निर्णय गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । राप्रपाले केही दिनअघि नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना छ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ११:३२   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।