काठमाडौं । सधै भीडभाड अनि ब्यस्त देखिने सिटिजन्स बैंक इन्टनेसनलको महाबौद्ध शाखा आज (मंगलबार) सुनसान देखियो। कारण हो अर्थ अनलाइनपाना डटकमले बैंकको उक्त शाखाबाट हुने गरेको नक्कली ब्यालेन्स सर्टिफिकेट प्रकरणबारे प्रकाशनको समाचारको।
सिटिजन्स बैंकले आर्क ग्लोबल कन्सल्टेन्सीसँग मिलेर नक्कली ब्यालेन्स सर्टिफिकेट बनाउने र अवैध तरिकाले विदेश जाने युवाहरूबाट चर्को रकम असुल गर्ने गरेको समाचार प्रकाशन गरेका थियौँ।
सोही विषयको फलोअपको लागि आज बैंकको महाबौद्ध शाखा पुग्दा उक्ता साखाका केही कर्मचारी हेरफेर गरेको पाइयो।
अनुचित क्रियाकलापका विषय सार्वजनिक भएपछि बैंकले नाटकीय ढंगबाट कर्मचारीको हेरफेर गरेको हो ।
बैंकले आर्क ग्लोबल कन्सल्टेन्सीसँग मिलेर ग्राहकको खातामा ‘वान डे’ ब्यालेन्स देखाइदिने कार्यमा संलग्न कर्मचारीलाई फेरबदल गरेको छ भने आजैदेखि उक्त साखमा कार्यरत सुरक्षा गार्ड हटाएर अर्कै कम्पनीका गार्डहरू नियुक्त गरेको छ।
उक्त शाखामा रहेका सिल्भर सेक्युरिटीका गार्ड आजबाट हटाएर बैंकले एनएक्स टु सेक्युरिटी कम्पनीका गार्ड नियुक्त गरेको हो। बैंकले उक्त कार्यमा संलग्न रोशन लामाको जिम्मेवारी एक महिला कर्मचारीलाई दिएको छ।
तर, उक्त शाखाको नेतृत्व गरिरहेकी प्रबन्धक रन्जना पन्नाचनको जिम्मेवारी भने यथावत रहेको छ।
पन्नाचनले आफैँले कन्सल्टेन्सीसँग मिलेर नक्कली ब्यालेन्स देखाएको र त्यसबापत अवैध रकम असुल गरेको स्वीकार गरेकी थिइन्।
बैंकभित्रै बसेर कर्मचारीकै हैसियतमा खुलेआम अवैध धन्दा चलाइरहेको आर्क ग्लोबल कन्सलटेन्सी र त्यसका महाप्रबन्धक प्रेम प्रकाश ढकालले पनि बैंकमा बसेर काम गर्न छोडेका छन्।
बैंककी एक कर्मचारी भन्छिन्, ‘समाचार आएपछि कन्सल्टेसीको सर त आउन छोड्न भयो, आजदेखि त गार्ड दिदी र अरु दाइहरू पनि आउनुहुन्न।’ ‘अरु त ठिकै हो। गार्ड दिदीलाई भने गाह्रो हुने भो। कम्पनीले कहाँ पठाइदिन्छ?’ उनले भनिन्।




















प्रतिक्रिया