Logo

प्रमुख समाचार

अहिलेको सरकार चीनले बनायो भनेर भ्रम नछरौं : ओली



महेन्द्रनगर- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा रहेको बताएका छन्। नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बचाउने, सुदृढ र विकसित बनाउने अभिभारा एमालेको काँधमा रहेको बताए।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको विकास निर्माणले तिव्रता पाउने विश्वास व्यक्त गर्दै सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्नेमा जोड दिए। ओलीले आफू प्रधानमन्त्री भएको समयमा सुरु गरेका सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्रको निर्माण लगायत सुदूरपश्चिमका सबै कामहरूले अब निरन्तरता पाउने बताए। उनले अधिवेशनबाट पार्टीको जिल्ला नेतृत्व सक्षम र सबल नेतृत्व चयन गर्न सुझाव दिए।

ओलीले नयाँ सत्ता समीकरण आफूहरूले बनाएको स्पष्ट गर्दै अहिलेको सरकार चीनले बनायो भनेर भ्रम छर्नेहरूलाई नेपालीको अपमान नगर्न चेतावनी दिए। नेपाली कांग्रेसले यो समीकरणलाई चीनले बनाएको भनेर प्रचारबाजी गरिरहेको भन्दै उनले त्यस्तो झुटो प्रचार नगर्न आग्रह गरे। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भए पनि एउटा पनि उल्लेख गर्नलायक काम नगरेको बताए।

वर्तमान सरकारमा एमाले सम्मिलित रहेको र यस सरकारले जनतालाई डेलिभरी दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले मिटर ब्याजपीडित र आरती साहका परिवारसँग सहमति गरेर समस्या समाधानको सुरुवात गरेको स्पष्ट पारे। उनले मुलुकको परिस्थिति फेरिएको भन्दै नयाँ परिस्थितिमा आत्मविश्वास र दृढताका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १०:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।