काठमाडौँ । सत्ता घटक जनता समाजवादी पार्टी(जसपा) नेपालमा भएको विभाजनले सरकारलाई कुनै असर नपर्ने एमाले र माओवादीका नेताहरूले बताएका छन् ।
जसपाका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला संघीय परिषद्का अध्यक्ष अशोक राई र कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ समूहले जसपा विभाजन गरी आइतबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
एमाले–माओवादीसहितको नयाँ समीकरण बनेदेखि नै विपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड सरकार ढाल्न विभिन्न विकल्प सारेको थियो । पहिलो विकल्प एमालेसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहनालाई एमालेका अध्यक्ष केपी ओलीले अस्वीकृत गरेपछि दोस्रो विकल्पमा एमाले र माओवादी बेगरको वैकल्पिक गठबन्धन बनाउने तयारी गरेको थियो । जसमा कांग्रेस, जसपा र एकीकृत समाजवादीबिच आलोपालो सरकारको नेतृत्व गर्ने गरी तीन दलका शीर्ष नेताहरूले भेटघाटलाई तीव्र बनाएका थिए ।
वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, जसपाको १२, एकीकृत समाजवादीको १०, जपाको ६, लोसपाको ४, नाउपाको ४ र राष्ट्रिय जनमोर्चाको एक गरी १३९ सांसदको समर्थनमा सरकार बनाउने योजना जसपा विघटन पश्चात् तत्कालका लागि तुहिएको छ ।




















प्रतिक्रिया