Logo

प्रमुख समाचार

एकै समयमा दुई ठाउँ हाजिरी गरेर शिक्षकहरुले दोहोरो सेवा सुविधा लिएकाे खुलासा



सिरहा । सिरहामा केही शिक्षकहरुले राजनीतिक पहुँचकको भरमा एकै समयमा दुई ठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा बुझ्ने गरेको पाइएको छ। समुदायिक विद्यालयका  स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायिक कलेजमा पनि पढाएवापत दोहोरो सेवा सुविधा बुझ्ने गरेको खुलेकाे हो।

राजनीतिक दवाव र प्रभावका कारण शिक्षकहरुले स्थायी रुपमा कार्यरत विद्यालयमा नपढाई विद्यालयकै समयमा अन्यत्र कलेज तथा विद्यायहरुमा पढाए पनि तलबभत्ता भने दुबै ठाउँबाट बुझ्ने गरेका छन्।

धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयको स्थायी शिक्षक समेत रहेका किशोरकुमार साह विगत ७ वर्षदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पसका प्रमुखको रुपमा कार्यरत छन्।

प्रमुख साह कार्यरत रहेका विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठलाई आर्थिक प्रलोभनमा पारी पछिल्लो लामो समयदेखि पब्लिक क्याम्पसको प्रमुखको रुपमा काम गरिरहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा बताए।

उनले भने, ‘ यहाँ विद्यालयको नियमित समयमा कहिले पनि नआउने शिक्षकले सहजै तलब खान्छ, जो दैनिक विद्यालयमा उपस्थित हुन्छ उ नै सेवावाट बञ्चित हुन्छ।’

यस विषयमा बुझ्न खाेज्दा प्रधानाध्यापक अशोक श्रेष्ठले ‘काम गरी खाएको छ। खानदिनुन्। कति शिक्षकहरुको पछाडि मात्रै लाग्नु भएको पत्रकारहरु पनि।’ भन्ने अभिव्यक्ति दिए।

उनले थपे, ‘शिक्षकको खासै अभाव नभएकोले पनि उहाँका बरेमा सोधीखोजी नगरेको हो। हामीसँग २० जना शिक्षक छन्।’

क्याम्पस प्रमुख तथा सत्यभामा डोडेल माध्यमिक विद्यालयका सामाजिक शिक्षक किशोर साहलाई तपाईहरुले कसरी दुई ठाउँमा समय मिलाई रहनु भएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘बिहानको कक्षा चलेको बेला क्याम्पस आउँदा विद्यालयमा बिदा लिने र विद्यालय जाँदा क्याम्पस बिदा लिने गरेको छु।’

१२ कक्षासम्म अध्यन अध्यापन हुने यस विद्यालयमा करिब १२ सय विद्यार्थी रहेका छन्। शिक्षक भने जम्मा २० जना मात्र रहेको बताइएको छ।

धनगढीमाई नगरपालिका ७ स्थितको जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहामा कार्यरत शिक्षक प्रदिपकुमार साहले पनि विगत लामो समयदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पसमा पढाउने  गरेका छन्।
उनी पनि एकै समयमा दुबै ठाउँमा हाजिर गरेर तलबभत्ता बुझ्ने शिक्षक रहेकाे बताइएकाे छ ।

यस क्याम्पसमा अध्यापन गराउने अधिकांश समुदायिक विद्यालयका स्थायी शिक्षकहरु छन्। उनीहरु पढाउने भन्दा पनि धेरै हाजिर गरेर  भाग्ने गरेको विद्यार्थीको गुनासो छ।

हिरेन्द्र विष्ट सरस्ती माध्यमिक विद्यालय जमदहका स्थायी शिक्षक हुन् । उनी पिन विद्यालयकै समयमा क्याम्पसमा पनि पढाउँछ्न्। बिष्टले गोलबजार नगरपालिका ६ स्थित माध्यमिक तहको निजी विद्यालय पनी चलाइरहेका छ्न्। उनको निजी विद्यालय,सामुदायिक विद्यालय र क्याम्पस समेत एकै समयमा चल्दा पनी तिनै ठाउँ हाजिर हुने गरेको शिक्षकहरु बताउँछन् । बिष्टले निजी बाहेक दुइवटै विद्यालयमा समयमै नपुगे पनी तलब भत्ता भने लिने गरेकाे स्राेतकाे दाबी छ।

त्यसैगरी, गणित विषय पढाउने भगवानबाबु साह मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयका शिक्षक हुन्। धनिकलाल मण्डल, जनता वनवाली माध्यमिक विद्यालय बर्छवा र प्रेम अधिकारी सिरहा नगरपालिकाका एक विद्यालयका स्थायी शिक्षक हुन्।

इश्वर स्याङ्वा महावीर माध्यमिक विद्यालय धनगढीमाई ९ चैनपुरका उच्च माध्यमिक विद्यालय शिक्षक हुन्। सिजे यादव र रामदयाल यादव सिरहा क्याम्पसका शिक्षक हुन्। उनीहरु सबैको अहिले बिहानी कक्षा चले पनी क्याम्पसमा पढाउने अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरुले यहाँबाट समेत पाँच घण्टी बराबरको तलब सुविधा बुझ्ने गरेका छन्।

अधिकांस समुदायिक विद्यालयका स्थियी शिक्षकहरु यहाँ कार्यरत भएकाले नयाँ शैक्षिकसत्र सुरुभएदेखि अहिलेसम्म हाजिर गर्नमात्र शिक्षकहरु क्याम्पस पुग्ने गरेका छन्।

बैशाखदेखि असारसम्म सामुदायिक विद्यालयहरुले मोर्निङ (बिहान)को समयमा पठन–पाठन चलाएको बेला सबै शिक्षकले प्रधानाध्यापकसँगको सेटिङ्गमा कहिले यता र कहिले उता गरेर पढाउने गरिरहेका छन्।

जम्मा १८ जना शिक्षकहरमध्ये १३ जना सरकारी विद्यालयका शिक्षकहरु कार्यालय समयमा अन्यत्र काम गरिरेहका छन्। अहिलेसम्म क्याम्पस व्यवस्थापन समितिलाई प्रभावमा पारेर र राजनीतिक आडमा आफ्नो रोजगारी टीकाईरहेको शिक्षकहरुमाथि आरोप लाग्दै आएको छ।

शिक्षकहरुलाई तपाईहरुले कसरी दुई ठाउँमा पढाई रहनुभएको छ ? भन्ने प्रश्नमा उनीहरुले मिलाएर काम गरिहेका छौं भन्ने जवाफ दिने गरेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १६:०८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।