Logo

प्रमुख समाचार

एकीकृत समाजवादीमा माधव र घनश्यामको नाममा नेताहरुको कित्ताकाट



काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन जारी छ । आइतबारबाट जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा नेताहरुले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्नेछन् ।

महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा।गंगालाल तुलाधर र डा।विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयनको कोशिस गरिएपनि अहिलेसम्मका प्रयास असफल भएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अध्यक्षले अध्यक्षको दाबी छाडेपनि अध्यक्ष माधव कुमार नेपाल फेरि दोहोरिने प्रयासमा छन् । अध्यक्षमा दोहोरिने माधवको चाहनालाई महासचिव घनश्याम भुसालले चूनौति दिइरहेका छन् ।

अध्यक्ष पदका लागि नेपाल–भुसालको प्रतिस्पर्धा निश्चित भएको नेताहरु बताउँछन् । भुसालले दाबी नछाडेसम्म अध्यक्षमा सर्वसम्मत हुने माधवको चाहना पूरा नहुने निश्चित छ । प्रतिस्पर्धामा जाँदा युवा पुस्ताको साथ भुसालतर्फ छ ।

नेपाल र भुसालले अध्यक्षमा भिड्ने तयारी गरिरहँदा पदाधिकारी तहका नेताहरुले पनि आफ्नो कित्ता प्रष्ट पार्न थालेका छन् । मधव नेपालको पक्षमा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, जयन्ती राई, केशवलाल श्रेष्ठ, प्रमेश हमाल, राजेन्द्र राई, जगन्नाथ खतिवडा, गंगालाल तुलाधारलगायत छन् ।

घनश्याम भुसालका पक्षमा घनेन्द्र बस्नेत, प्रकाश ज्वाला, डा. विजय पौडेल, गरिमा शाह, जीवनराम श्रेष्ठ, हरि पराजुलीलगायतका नेता छन् ।

यता हाल सचिवसमेत रहेकी चर्चित नेत्री रामकुमारी झाँक्री भने दोधारमा परेकी छन् । उनले भुसाल समूहले महासचिवका लागि तयारी अवस्थामा रहन भनेपनि उनले अहिले नै निर्णय गर्न नसक्ने जवाफ दिएका छिन् । त्यसोत झाँक्रीलाई माधव नेपाल समूहले चुनाव हुने अवस्था हाएमा उपाध्यक्षमा उठाउने सम्भावना पनि छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १६:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।