काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।
यो गत आवको सुरुवात सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेको थियो । तर, असार मसान्तसम्ममा आइपुग्दा भने १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थप परिचालन भएको देखिन्छ । गत जेठ महिनाको तुलनामा भने सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ थप भएको छ ।
सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।
कुल ऋण दायित्वमध्ये आन्तरिक तर्फ ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ बाँकी छ । यस्तै, बाह्य ऋण भने १२ खर्ब ५२ अर्ब ३३ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
गत वर्ष सरकारले आन्तरिक तर्फ २ खर्ब ३४ अर्ब ४२ करोड १४ लाख रुपैयाँ र बाह्य तर्फ १ खर्ब २३ अर्ब ६० करोड ८१ लाख रुपैयाँ ऋण प्राप्त गरेको छ । समिक्षा वर्षमा आन्तरिक तर्फ १ खर्ब ८२ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ र बाह्य तर्फ ४० अर्ब ७२ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
गत आवमा सरकारले ४ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । गत असार मसान्तसम्ममा सरकारले ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ति गरेको हो । कुल लक्ष्यमा ९४ अर्ब ७२ करोड ५ लाख रुपैयाँ प्राप्ति गर्न बाँकी छ ।
गत आवमा सरकारले कुल २ खर्ब ५५ अर्ब ३९ करोड ११ लाख रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । यसमा १ खर्ब ८२ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ सावाँ भुक्तानी र ७२ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको हो ।
यस्तै, बाह्य तर्फ भने ४९ अर्ब ९८ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ । बाह्य ऋणको सावाँ ४० अर्ब ७२ करोड २१ लाख र ब्याज ९ अर्ब २६ करोड ३९ लाख रुपैयाँ भुक्रानी गरेको छ ।




















प्रतिक्रिया