काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागले प्रकाशन गरेको गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।
गत आर्थिक वर्षमा नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात गरेको छ । तर, यो आयात अघिल्लो आवको तुलनामा भने १.१६ प्रतिशत कमी हो । अघिल्लो आर्थिक वर्षमा पनि कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । आर्थिक वर्ष २०७८/७९ यता निरन्तर आयात र निर्यात घट्दै आइरहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात ३.०३ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, गत आर्थिक वर्षमा भने घटेर १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।
गत वर्ष नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । तर, आयातको तुलनामा निर्यात ज्यादै कम हुँदा व्यापार घाटा पनि साढे १४ खर्ब कायम भएको छ ।
विभागका अनुसार गत वर्ष नेपालले कुल १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।




















प्रतिक्रिया