काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भोलि अर्थात् साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपिओ बाँडफाँट हुने भएको हो ।
सिडिएसका कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म निष्काशन गरेको एफपीओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन दिएका हुन् । जस मार्फत २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९.५४५ कित्ता एफपीओ सेयर निष्काशन गरेको हो । जसअन्तर्गत ४ हजार ६७२ जनाले १०/१० कित्ता सेयर पाउने छन् । सोही मध्यका ९ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता सेयर पाउने छन् । कम्पनीको एफपीओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने देखिएको छ ।
साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९.६४ प्रतिशत रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको थियो । कम्पनीको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।




















प्रतिक्रिया