काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सो नाफा कमाएको देखिएको हो ।
बैंकहरुको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आवको अन्त्यसम्ममा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
गत आर्थिक वर्ष सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ । सो बैंकले असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो ।
त्यस्तै, ६ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ५ अर्ब १९ लाख रुपैयाँ नाफासहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ । सो बैंकको खुद नाफा समीक्षा अवधिमा १४९९.०४ प्रतिशत बढी हो ।
त्यस्तै, कुमारी बैंकको खुद नाफा समीक्षा अवधिमा ३४५.६७ प्रतिशत बढेको छ भने प्राइम कमर्सियल बैंकको २६७.१९ प्रतिशत र कृषि विकास बैंकको १७६.२३ प्रतिशत बढेको छ ।
त्यस्तै, एभरेष्ट बैंकले ३ अर्ब ७० कराेड ६ लाख खुद नाफा कमाएकाे छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४९ कराेड ८२ लाख र स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० कराेड ८९ लाख खुद नाफा कमाएकाे छ ।
लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ कराेड ४५ लाख खुद नाफा कमाएकाे छ ।
यसैगरी, सिद्धार्थ बैंकले ३ अर्ब १ कराेड ५५ लाख, हिमालयन बैंकले २ अर्ब ८३ कराेड ८० लाख, सानिमा बैंकले २ अर्ब ३४ कराेड १९ लाख र एनएमबि बैंककाे २ अर्ब ३३ कराेड ६५ लाख खुद नाफा कमाएका छन् । त्यस्तै, नेपाल एसबिआई बैंकले २ अर्ब १ कराेड ३७ लाख खुद नाफा कमाएकाे छ ।
सबैभन्दा कम नाफा कमाउनेमा भने माछापुच्छ्रे बैंक रहेको छ । सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।




















प्रतिक्रिया