काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।
सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । प्रहरी अनुसन्धान जसरी नभई सोधपुछ गरेर तथ्य पत्ता लगाउने तयारी छ ।
विदेश पलायन बाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भएको स्रोतले बतायो । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा लगायतसँग समतिले सोधपुछ गर्ने स्रोतको भनाइ छ ।
प्रहरीले चलाएको सहकारी ठगीका मुद्दा समेत अध्ययन गरेको छानबिन समिति सभापति सूर्य थापाले बताए । ‘सहकारी विभागमा रजिस्ट्रारको सरुवा छिटोछिटो हुने रहेछ । पूर्व रजिस्ट्रारसँग पनि छलफल गरेका छौं,’ थापाले भने, ‘सहकारी पीडितसँग पनि छलफल भयो । सहकारी क्षेत्रको भक्तिगान धेरै गरिएछ ।’




















प्रतिक्रिया