काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा पनि स्टार्टअप कम्पनीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा छनोटमा परेका १६५ स्टार्टअप कम्पनीलाई सरकारले कर्जा उपलब्ध गराएको थियो ।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि पनि सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरेको छ । यससँगै अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जा उपलब्ध गराउने भएको हो ।
यसका लागि प्रतिष्ठानले २१ दिने सूचना जारी गर्दै परियोजना प्रस्ताव पेस गर्न आह्वान गर्नेछ । त्यसपछिका सबै चरण पार गरी छनोटमा पर्न सफल स्टार्टअप कम्पनीले ५ लाखदेखि २५ लाख रुपैयाँ कर्जा प्राप्त गर्नेछ ।
यो कर्जा पाँच वर्षभित्र सरकारलाई फिर्ता बुझाउनु पर्नेछ ।
तीन प्रतिशत ब्याज
छनोट भएका परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट ५ लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् । यस्तो ऋणको ब्याज वार्षिक ३ प्रतिशत हुनेछ ।
कर्जाको अवधि अधिकतम पाँच वर्षमा नबढाई ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट साँवा र ब्याजबापतको रकम फिर्ता प्रारम्भ गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मका लागि दुई किस्ता र सोभन्दा बढी २५ लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ ।




















प्रतिक्रिया