Logo

अर्थ

बैंकहरूले उठाउन सकेनन् १ खर्ब १९ अर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत



काठमाडौं । बैंकहरूको ब्याज यसपटक २० प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार २०८१ असार मसान्तमा उठाउन नसकेको ब्याज १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ ।

असार २०७९ मा यस्तो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो ।

नेपाल फाइनान्सियल एकाउन्टिङ स्ट्यान्डर्डअनुसार ‘एक्रुअल’ आधारमा वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ । बैंकहरूले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आकलन गर्छन् । तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्था अनुसार त्यस्तो रकमबाट बैंकहरूले आयकर तिर्ने र कर्मचारी बोनसका लागि छुट्याए बाँकी रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ ।

असार २०८० मा ९९ अर्ब रहेको यस्तो ब्याज एक वर्षमा करिब २० अर्ब अर्थात् १९.८ प्रतिशत बढेको हो । असार २०७९ को तुलनामा असार २०८० मा ६२.७ प्रतिशतले बढेको थियो ।

२० अर्ब उठ्न नसकेको ब्याजमा वृद्धि र गैरबैंकिङ सम्पत्ति समेत सोही हाराहारीमा बुक गरेका बैंकहरूले नाफाबाट २० प्रतिशत अनिवार्य जगेडा कोषमा छुट्याउनुपर्दा ७० अर्बभन्दा धेरै नाफा आर्जन गर्दा पनि लाभांश बाँड्ने क्षमता भने कमजोर देखिएको छ ।

बैंकहरूले ब्याज उठाउन नसक्दा खुद कर्जा विस्तार न्यून भए पनि बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ५१ खर्ब ९३ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० असार मसान्तमा ४८ खर्ब ९६ अर्ब ८२ करोड रहेको बैंक तथा वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी गत आवमा ६.१ प्रतिशतले बढेको हो ।

उठ्न नसकेको ब्याजका कारण ६.१ प्रतिशतले निजी क्षेत्रमाथिको दाबी वृद्धि देखिए पनि कर्जाको साँवा वृद्धि भने २ खर्ब ७७ अर्ब अर्थात् ५.८ प्रतिशतले मात्रै बढेको छ ।

गत असार मसान्तमा बैंकहरूले उठाउन नसकेको ब्याजमध्ये वाणिज्य बैंकको मात्रै १ खर्ब ८ करोड पुगेको छ । ४४ खर्ब ९४ अर्ब १६ करोड साँवा र उठ्न नसेकेको ब्याजसमेत वाणिज्य बैंकहरूको निजी क्षेत्रमाथिको दाबी ४५ खर्ब ९६ अर्ब २५ करोड पुगेको छ ।

यस्तै विकास बैंकहरूको उठ्न नसेकेको ब्याज ७ अर्ब ९९ करोड सहित निजी क्षेत्रमाथिको दाबी करिब ४ खर्ब ९० अर्ब पुगेको छ । त्यसैगरी फाइनान्स कम्पनीको उठ्न नसकेको ब्याज ११ अर्ब ५२ करोड पुग्दा निजी क्षेत्रमाथिको कुल दाबी १ खर्ब ७ अर्ब ५१ करोड पुगेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १०:४१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।