Logo

अर्थ

बैंकहरूमा सेयर धितो कर्जाकाे माग बढ्यो, नबिल बैंक सबैभन्दा अगाडि



काठमाडौं । वाणिज्य बैंकहरुको सेयर धितो कर्जामा लगानीकाे माग बढेको छ । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको हाे ।

१ वर्षको अवधिमा बैंकको सेयर धितोमा प्रवाह हुने कर्जा १९.८८ प्रतिशतले बढेर ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

२० मध्ये १३ बैंकको सेयर धितोमा प्रवाह हुने कर्जा बढेको छ भने ६ बैंकको घटेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गर्ने गरेको छैन ।

त्यस्तै, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंक सेयर बजारप्रति केही लचिलो बनेको छ । त्यसकाे कारण पनि सेयर धितोमा प्रवाह हुने कर्जा बढेको हाे ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीकाअनुसार पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको छ । ‘बजार बढ्ने क्रममा रहँदा सेयर कर्जाको माग बढ्ने गरेको देखिन्छ ।’

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको अघिल्लो आर्थिक वर्षको तुलनामा सेयर धितो कर्जा १९.८८ प्रतिशतले बढेर ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकहरुले ५८ करोड ६७ लाख ९० हजार रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

सेयर धितो कर्जा दिनेमा नबिल बैंक सबैभन्दा अगाडि रहेकाे छ । नबिल बैंकले सबैभन्दा धेरै ११ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ । त्यस्तै, ग्लोबल आइएमइ बैंकले ७ अर्ब ५१ करोड सेयर धितोकर्जा प्रवाह गरेको छ भने नेपाल बैंकले ६ अर्ब ७८ करोड, सिद्धार्थ बैंकले ५ अर्ब ७८ करोड, सिटिजन्स बैंकले ४ अर्ब ८० करोड, कुमारी बैंकले ४ अर्ब ३७ करोड कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड तथा प्राइम कमर्सियल बैंकले ४ अर्ब ५ करोड कर्जा प्रवाह गरेका छन् ।

नेपाल एसबीआई बैंकले सबैभन्दा कम २० करोड १५ लाख रुपैयाँमात्र सेयर धितो कर्जा प्रवाह गरेको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १२:२९   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।