लन्डन । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार, आइतबार भएको भर्चुअल बैठकमा एनआरएनए पदाधिकारीले पहिलो चरणमा तत्काल बाढीपीडितका निम्ति १ करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।
बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभागका प्रमुख डा. हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ । समितिमा संघका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् ।
पदाधिकारीको बैठकपछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपत्कालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने जनाइएको छ ।
अध्यक्ष डा. केसीका अनुसार, एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।
वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाप्रति बैठकबाट श्रद्धाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
संघका महासचिव गौरीराज जोशीले एनआरएनएको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल गरिएको जानकारी दिए । उक्त साधारणसभा आउँदो कात्तिक ११ र १२ मा काठमाडौंमा आयोजना गरिँदै छ ।




















प्रतिक्रिया