Logo

अर्थ

‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ ।

बैंकले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम ५ करोड रुपैंयासम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको हो ।

कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् । ‍

कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने जनाएको छ ।

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने बैंकले जनाएको छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १३:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।