काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्धनका लागि लोकप्रिय फ्रि कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ। यसका लागि बोर्ड र भाइबरबीच सम्झौता भएको छ ।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी, व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपाल प्रतिनिधि क्षितु रिसालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बोर्डको आधिकारिक भाइबर प्लेटफर्म : ‘नेपालनाउ बाइ एनटीबी’ अन्तर्गत पर्यटन उद्योग, पर्यटक, भाइबर प्रयोगकर्ता र विश्वभरका नेपालीबीच दैनिक पर्यटकीय जानकारी प्रसार हुनेछ । भाइबरको उक्त च्यानललाई नेपालका विभिन्न भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा समाचार र अपडेटहरू आदानप्रदान गर्न पनि प्रयोग गरिनेछ ।
साझेदारीको अवधिमा पर्यटन प्रवर्धन अभियान र स्टिकर प्याकहरू पनि संचालन गरिने जनाइएको छ। बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकार्यले मुलुकको पर्यटन प्रवर्धन हुनेमा आशावादी रहेको बताए ।
‘भाइबर धेरै लोकप्रिय प्लेटफर्म हो। यसले नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा अझ बढी ब्रान्ड भिजिबिलिटी बनाउनुका साथै हाम्रा उत्पादन र अनुभवहरूलाई विविधीकरण गर्न मद्दत गर्नेछ भन्नेमा हामी सकारात्मक छौं । हामी पूरक र क्रस कटिङ सञ्चारका लागि ट्राभल ब्लगरहरू, सामग्री सिर्जनाकर्ताहरू, टुर अपरेटरहरू र यात्रुहरूको साथ एक गतिशील समूह सिर्जना गर्ने योजनामा छौं,’ उनले भने, ‘डिजिटल एक्सचेन्ज र एआईको यो युगमा, हामीले हाम्रा दर्शकहरूलाई थप आकर्षक र व्यक्तिगत रूपमा पुग्न त्यस्ता लोकप्रिय च्यानलहरूको प्रयोग गर्नु महत्त्वपूर्ण हुनेछ ।’
एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले राकुटेन भाइबर विगत केही वर्षदेखि नेपालको पर्यटन उद्योगलाई सहयोग गर्न प्रतिबद्ध रहको बताए। ‘नेपाल पर्यटन बोर्डसँगको साझेदारीले नेपाललाई घुम्नैपर्ने गन्तव्यका रूपमा प्रवर्धन गर्ने हाम्रो प्रतिबद्धतामा एउटा महत्त्वपूर्ण कोसे ढुंगा हो,’ उनले भने ।
६ महिनायता नेपालका ६ वटा विभिन्न सरकारी निकायहरूसँग साझेदारी गरेको भाइबरले जानकारी दिएको पर्यटन बोर्डको मिडिया सेन्टरले जनाएको छ ।




















प्रतिक्रिया