Logo

प्रमुख समाचार

छठको भोलिपल्टदेखि कांग्रेसले १०० दिने अभियान सुरु गर्ने



काठमाडौं । संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थाल्ने भएको छ । बाढीपहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो ।

देशभर बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो । अभियान सुरु भएको केही दिनमै रोकिएको अब चाडपर्व सकिएपछि सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘स्थगित भएको छैन। हिमाली जिल्लामा अभियान चलिरहेको छ । बाढी प्रभावित क्षेत्रमा खटिएका साथीहरु आउनुभएको छ । अब छठपछि जानुहुन्छ । फर्मली छठको भोलिपल्टबाट सुरु हुन्छ ।’

उनले अभियान पार्टीको संगठन चलायमान बनाउन प्रभावकारी देखिएको बताए । पार्टीले अघि सारेको नीति, एमालेसँगको सहकार्य, सहकारी प्रकरणलगायतको विषय जनतामाझ लैजान कांग्रेसले अभियान चलाएको हो ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन केन्द्रित गरेर चुनाव हुने क्षेत्रमा अभियानमा खटिएका प्रतिनिधिले काम गर्ने मुख्यसचिव पौडेलले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार ०९:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।