काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीमा कूल १५६ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार मंसिर ४ गतेको अन्तिम समयसीमाभित्र भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको सिफारिसमार्फत् ४७ आवेदन परेका छन् ।
कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालकाअनुसार अध्यक्ष पदमा ३१ जनाको आवेदन परेको छ । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् ।
२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म थियो ।
नाम छनोट तथा सिफारिस समितिमा मानव अधिकार आयोगका आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य छन् ।




















प्रतिक्रिया