Logo

राजनीति

शान्ति प्रक्रिया टुंग्याएर नेपालबाट शान्तिको नयाँ मोडल प्रस्तुत गरौँ : प्रचण्ड



काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताएका छन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्दर्भमा बुधबार वक्तव्य दिँदै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत न्यायपूर्ण संघर्षमा साहदत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शान्ति सम्झौताको मूलभूत मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रियामा रहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारका पालामा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक विधेयकलाई अन्तिम रूप दिइएको स्पष्ट पारे । ‘अब त्यो निष्कर्षतर्फ जाँदै छ, हामी सबै यसमा खुसी छौँ’, उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको नयाँ ‘मोडेल’का रूपमा प्रस्तुत गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढेका छौँ ।’

५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार १३:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।