Logo

अर्थ

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन : होजोन अटो कम्पनी



काठमाडाैं । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।

होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो । ‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’

होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजनक रुपमा वितरण भईरहेको जानकारी दिँदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाको तर्फबाट आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा उपभोक्ताको विक्री पछिको अनुभवलाई धेरै महत्व दिन्छौँ ।’ नेपालको आधिकारीक बिक्रेता सिजी मोर्टस मार्फत बिक्री भएका गाडीहरुमा न्युनतम १० बर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाईनाले ब्यक्त गरेको छ ।

नेपालका केही मिडियामा नेटा सम्वन्धी नकारात्मक समाचार आए लगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो ।

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १६:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।