काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने नाममा कानुन विपरीत अभ्यास गर्दै नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा बैंक खाता रोक्का गर्न राष्ट्र बैंकका गभर्नरलाई सम्बोधन गर्दै पत्र लेखेका छन् ।
त्यस्तै नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै बक्यौता नतिर्ने उद्योग सञ्चालकले स्थापना गरेको कम्पनी समेतलाई आईपीओको अनुमति नदिन पत्राचार गरेका छन् । घिसिङले कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै सम्बन्धित उपभोक्ताको सेयर अन्य कुनै कम्पनीमा जारी गर्न, धितो बन्धकी दिन नपाउने गरी रोक्का राख्न अनुरोध गरेका छन् ।
त्यसैगरी बक्यौता नतिर्ने उपभोक्ताको वित्तीय स्वार्थ रहेको अर्को कम्पनीले प्राधिकरणसँग पीपीए गरी ऊर्जा बेचिरहेको रहेछ भने असुल नभएसम्मका लागि उसलाई भुक्तानी गर्नुपर्ने रकमबाट कट्टा गरी असुल गर्ने पनि प्राधिकरणको पत्रमा उल्लेख छ ।
घिसिङले नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ३२ (क) बमोजिम बक्यौता रकमलाई सरकारी बाँकी सरह असुलउपर गर्ने प्रयोजनका लागि भन्दै विभिन्न नियामक निकायका प्रमुखलाई सम्बोधन गर्दै पत्र लेखेका छन् ।
यसरी प्राधिकरणले लेखेको पत्र त्रुटिपूर्ण, खोटपूर्ण र गैरकानुनी देखिने कानुन व्यवसायी बताउँछन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ४० को उपदफा २ बमोजिम सरकारी बाँकीसरह बक्यौता असुल उपर गर्न भन्दै कुलमान घिसिङले राष्ट्र बैंक लगायत निकायलाई पत्राचार गरेका हुन् । प्राधिकरणको बक्यौतालाई सरकारी बाँकी मान्ने नै हो भने पनि ऐन बमोजिम सबैभन्दा पहिलो घिसिङ स्वयं र प्राधिकरणकै कर्मचारीलाई कारबाही हुनुपर्ने देखिन्छ ।
प्राधिकरणले नै उल्लेख गरेको उपदफामा ‘असुल गर्नुपर्ने वा तिर्नु बुझाउनुपर्ने भनी औंल्याएको बेरुजुका हकमा लेखा उत्तरदायी अधिकृतले कारोबारमा संलग्न पदाधिकारीसँग विवरण र स्पष्टीकरण लिई त्यस्तो बेरुजु असुल गराइ समयमै फर्छ्योट गराउनुपर्ने छ,’ भन्ने उल्लेख छ ।
सोही ऐनको दफा ४७ मा सरकारी बाँकीका रूपमा लगत कायम भएको असुल गर्नुपर्ने रकम असुल उपरका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउनुपर्ने व्यवस्था छ । तर, घिसिङले न यो रकमलाई सरकारी बाँकी भनेर लगत कायम गराएका छन्, न कुमारी चोक अड्डामा लेखी पठाएका छन् ।




















प्रतिक्रिया