काठमाडाैं । सिजी मोटर्स प्रालि नेपालका प्रमुख विद्युतीय गाडी वितरक कम्पनीले पोखरामा फास्ट चार्जिङ स्टेसन हस्तान्तरण गरेको छ । सिजी मोटर्स प्रालि र पोखराका लागि डिलर टिटि ग्लोबल प्रालिले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको हाे ।
सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् । सिजी मोटर्स प्रालि नेपालमा केवाईसी, किङ्गलोङ्ग, निटा, दायुन, रिडारा, एक्ष्पेङ्ग, जीएसी, स्मार्ट र अवतार आधिकारिक वितरक हो । कम्पनीले अधिकतम चार्जिङ स्टेसन र सेवा केन्द्रहरूका साथ नेपालको अटोमोबाइल उद्योगमा नेतृत्व गर्दै आएको छ । कम्पनीले पोखरामा चार्जिङ स्टेसन स्थापना गर्न थालेसँगै, यातायात व्यवसायीहरूलाई विद्युतीय गाडी चार्ज गर्नका लागि सहज सुविधा प्रदान हुनेछ।

कम्पनीको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ । चार्जिङ स्टेसन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको बताए ।
हेमन्त अग्रवालका अनुसार, सिजी मोटर्सले हालसम्म नेपालभर २०० भन्दा बढी फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र आगामी एक वर्षभित्र थप २०० स्थानमा यसलाई विस्तार गर्ने योजना बनाएको छ। यसका साथै, कम्पनीले २१ सेवा स्टेसनहरू स्थापना गरी ग्राहकलाई विश्वसनीय सेवा र मर्मत सेवा प्रदान गर्दै आइरहेको छ ।

टिटि ग्लोबलले पोखराका लागि केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्रीवितरण गर्दै आइरहेको छ । टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले बताए ।
नेपालमा विद्युतीय गाडीको माग बढ्दै गइरहेको अवस्थामा, सिजी मोटर्सले इवी इन्फ्रास्ट्रक्चरको लागि आफ्नो चार्जिङ स्टेसन र सेवा नेटवर्कलाई अझ विस्तार गर्दै नेपालभरिका ग्राहकहरूलाई निरन्तर सेवा दिने तयारी गरेको छ ।




















प्रतिक्रिया