कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका सांसद रवि लामिछाने कानुनी व्यवस्थाबमोजिम सांसद पदबाट निलम्बनमा परेका छन् ।
उनीविरूद्ध अरू चार जिल्लामा पनि मुद्दा चलाउने तयारी गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले मात्रै रवि लामिछानेलाई अधिकतम २४ वर्ष कैद सजाय गर्न मागदावी गरेको छ ।
कास्कीमा थुनछेकको बहस सकिएपछि मात्रै पनि उनी अझै तीन महिना त विभिन्न जिल्लाका हिरासतमैं बिताउनुपर्ने देखिएको छ । आइतबार लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा दायर अभियोगपत्रमा कार्यालयले यस्तो मागदाबी गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को २७ अनुसार लामिछानेलाई २ देखि १५ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।
त्यस्तै सहकारी ठगीमा ४ देखि ६ वर्ष सजाय गर्नुपर्ने मागदावी लिइएको छ । सहकारी ऐन, २०७४ को दफा १२४ बमोजिम १ करोडदेखि १० करोडसम्म बिगो भएमा ४ देखि ६ वर्ष कैद हने व्यवस्था छ ।
लामिछानेविरुद्ध सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो मागदाबी लिइएको छ । त्यस्तै, सरकारले उनीविरुद्ध सङ्गठित अपराधको कसुर पनि लगाएको छ । सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसार थप ५० प्रतिशत सजाय हुने व्यवस्था छ ।
उनीविरुद्ध दायर गरिएको अभियोगपत्रअनुसार कम्तीमा २४ वर्ष सजाय हुन मागदाबी लिइएको छ । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछाने लगायत पाँच जनाको सोमबारदेखि अदालतमा बयान शुरु भएको छ ।
बयानपछि थुनछेकको बहस हुनेछ । सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
हाल लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार विगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छिन् ।
उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ ।
प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको छ ।
यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । लामिछाने दम्पत्ति, जोशीका पत्नी र छोरा तथा पछाइका आमा र दिदीका नाममा रहेको सम्पत्ति पनि जफत गर्न भनिएको छ।
त्यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सहकारी ठगी र संगठित अपराधमा अभियुक्त बनाइएको छ । प्रहरी अनुसन्धानका क्रममा लामिछाने दम्पतीको बैंक खाता विश्लेषण गर्दा ‘अस्वाभाविक कारोबार’ भएको पाइएको थियो ।
छोटो अवधिमा बैंक खाताबाट २९ करोड ७ लाख ८४ हजार ४ सय ६९ रुपैयाँ झिकेको र २८ करोड ९१ लाख ३६ हजार ९ सय ६७ रुपैयाँ जम्मा गरेको भेटिएको हो। त्यसैले सामाने दम्पत्तीको सम्पत्ति जफत गर्न माग गरिएको छ ।
पूर्व डीआईजी छविलाल जोशीकी पत्नी पद्मा र छोरा रोचकको पनि सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिल कार्यालयको मागदाबी छ । पूर्वडीआईजी जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणमा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ विगो कायम गर्दै बिगोको दोब्बर जरिवाना र २ वर्षदेखि १५ वर्ष कैदको माग गरिएको छ।
छविलालका नाममा मोरङमा रहेको जग्गा र बैंकमा रहेको मौज्दात, पद्माका नाममा काठमाडौंको नक्साल र शंखमूलमा रहेको जग्गा, रोचकका नाममा काठमाडौंको मच्छेगाउँमा रहेको जग्गा जफत गर्नुपर्ने मागदावी गरिएको छ ।
लीला पछाईकी आमा राधा र दिदी गीताको पनि सम्पत्ति जफत गर्नुपर्ने माग गरिएको छ। पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले सूर्यदर्शन सहकारीको २ करोड ७४ लाख ८ हजार रुपैयाँ अपचलन गरेको भन्दै बिगो र सो बराबरको जरिवाना माग गर्दै मुद्दा दायर भएको हो ।
बुटवलको सुप्रिम सहकारीमा पनि पुन अभियुक्त हुन्। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई समेत पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अभियोग लगाइएको छ । नेपाली यसअघि नै इमेज सहकारीको ठगीमा पुर्पक्षका लागि कारागारमा छन् ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई पोखरामा जस्तै चितवन, बुटवल, काठमाडौ र पर्सामा पनि सहकारीको बचत रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको भन्दै सहकारी पीडितले दिएको जाहेरीका आधारमा मुद्दा चलाउने तयारी भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जहाँ-जहाँ अपराध भएका छन्, ती सबै ठाउँमा मुद्दा चल्ने छ।
कास्कीमा सूर्यदर्शन सहकारीका विषयमा हामीले आइतवार मुरा दायर गर्यौं, अरु जिल्लामा भएका ठगीका विषयमा त्यही जिल्लावाट मुद्दा चल्छ’ उनले भनिन्, ‘त्यही भएर ती जिल्लाहरूमा पनि बयान भएका छन् ।’
कास्कीमा सम्पत्ति शुद्धीकरण मुरा र गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको कुल रकम जोडेर मुद्दा चलाइएको छ ।
‘हामीले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट अवैध रूपमा लगेको रकम जोडेका छौ,’ उनले भनिन्, ‘सम्पत्ति शुद्धीकरणमा पनि उनीहरूले गरेका गैरकानुनी आम्दानी र कारोबारका विवरण राखेका छौं ।’
अरू जिल्लामा मुद्दा लगाउँदा कुन कुन कसुरमा लाग्ने भन्ने कुरा सोही जिल्लामा भएका कसुर हेरेर सम्बन्धित जिल्लाको सरकारी वकिलको कार्यालयले निर्णय गर्ने छन् ।
छानविन प्रतिवेदनका अनुसार जिबी राई र रवि लामिछानेका नाममा २०७६ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ ।
भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ । २०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछाने ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ ।
गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ । यस्तै, चितवनको साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालि.मा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
वीरगन्जको सानो पाइला सहकारीवाट ८ करोड भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालि.मा गएको संसदीय छानबिन प्रतिवेदनमा उल्लेख छ ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको सानो पाइला लगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम प्रवाह भएको खबर करेन्ट साप्ताहिकमा छ ।
पोखराको सूर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको रकम अपचलन गरेको आरोपमा लामिछानेविरूद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार कारवाही गर्न माग गरिएको छ ।
लामिछानेसँग सहकारीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो माग गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भन्दै जफत गर्न माग गरिएको छ ।




















प्रतिक्रिया