Logo

अर्थ

तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा, मर्स्याङ्‍दी जलाधारको बिजुली काठमाडौं ल्याउने पूर्वाधार तयार



काठमाडौं । तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

मर्स्याङ्‍दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित उक्त सबस्टेसन सञ्चालनमा आएको हो ।

मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यका ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन पनि मंगलबार नै २२० केभीमा चार्ज गरी सञ्चालनमा आएको छ ।

८२ किलोमिटर लामो उक्त प्रसारण लाइन ७ असार २०७९ बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाका विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणाली सुदृढ बनाउन मर्स्याङ्‍दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौं मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण भएको हो ।

मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखदेखि सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभीए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभीए छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्‍दी नदी करिडोरका जलविद्युत् आयोजनाका विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन र त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकापसमा आबद्ध गरिएको छ । त्रिशूली र मस्याङ्दीका दुवै प्रसारण लाइन बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट ) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

मर्स्याङ्‍दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइन मार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १४:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।