काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका प्रमुख सङ्घ–संस्थाले हालै जारी गरिएका अध्यादेशप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरूको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, र उद्योग व्यवसाय महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले सरकारद्वारा जारी अध्यादेशलाई स्वागतयोग्य भनेका छन् ।
निजी क्षेत्रका प्रतिनिधिले कोभिड १९ पछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे ।
उनीहरुले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सृजना यही ढङ्गले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुन योगदान मिल्ने बताए ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएकाले थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने क्रममा रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो काम गर्ने सरकारको सदासयतालाई सकारात्मकरुपमा लिइदिएकामा खुसी व्यक्त गर्दै सरकार ढल्दैछ भन्नेर बजार हल्ला लाइए नि सत्ता गठबन्धनमा रहेका दलहरु आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढंगले चालिरहेको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले देश बनाऔँ भन्ने भावना सबैमा रहेको हुँदा आफ्ना स्वार्थका लागि जतिबेला पनि विरोध गर्नेहरुबाहेक आम मान्छेले विकास र सुशासन चाहेको बताए । सुशासन र विकाससँग सम्बन्धित व्यवहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नहुने बताए ।




















प्रतिक्रिया