काठमाडाैं । नेपालको अटोमोवाइल क्षेत्रको तालिम तथा क्षमता विकास लगायतका कार्यक्रममा साझेदारी गर्न नेपाल भारतका तीन पक्षीय निकायबीच समझदारी भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (एनएडिए), अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडिसी) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिएमए) बीच चार बुँदे त्रिपक्षीय सम्झौता गरिएको हो ।
यो सम्झौताले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरसिप क्षेत्रमा सिप विकासलाई प्राथमिकता दिँदै तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रशिक्षक, मूल्यांकनकर्ता र व्यवसायीहरूलाई लक्षित यी तालिम कार्यक्रमले अटोमोबाइल उद्योगमा दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
अटोमोटिभ उद्योग प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण क्षेत्र हो।
यस उद्योगको विकासका लागि तालिमको स्तर वृद्धि, पूर्वाधार सुदृढीकरण र सिप विकासलाई मुख्य प्राथमिकता दिइने उल्लेख समझदारीमा छ।
नेपालका अटोमोटिभ व्यवसायीहरूलाई समयसापेक्ष दक्षतासहित अघि बढाउन आवश्यक पाठ्यक्रम विकास, तालिमको कार्यान्वयन र मूल्यांकन प्रणालीलाई आधुनिक बनाउन भारतको अनुभव र प्रविधिको उपयोग गरिने नाडाका प्रतिनिधिहरूले बताएका छन्।
यो सम्झौता नेपाल र भारतबीचको अटोमोबाइल क्षेत्रमा दीर्घकालीन सहकार्यको आधारशीला सावित हुने विश्वास लिइएको छ।




















प्रतिक्रिया