चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाएका उनीहरुको लाइन गत साउनयता काटिएको हो ।
कार्यालयका प्रमुख ई. रामु श्रेष्ठका अनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा एक हजार ४५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरुबाट दुई करोड ८२ लाख २१ हजार ९१६ राजस्व सङ्कलन भएको छ ।
प्रमुख श्रेष्ठका अनुसार एक हजार ६६८ जना ग्राहकबाट चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ ।
उनीहरुबाट एक करोड पाँच लाख ४६ हजार १८८ बक्यौता उठाउन बाँकी छ । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, ‘नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियमअनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ ।’
भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् । यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।रासस




















प्रतिक्रिया