काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेड नेपालमा विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्न साझेदारीमा प्रवेश गरेका छन् ।
माघ १० मा आधिकारिक रूपमा सुरु भएको यो सहकार्यले विद्युतीय व्यावसायिक सवारी साधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको छ । सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारी साधनको लागतको ७०प्रतिशत सम्म ऋण प्रदान गर्नेछ ।
यी ऋणहरू आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शका साथ आउँछन् । यस साझेदारीअन्तर्गत ११-सिटर, १४-सिटर, १६-सटिर र १९-सिटर विद्युतीय सवारी साधनहरूसहित दिगोका सबै व्यावसायिक गाडीहरूका लागि वित्तीय विकल्पहरू उपलब्ध हुनेछन् ।
दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ । यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहकहरू तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ ।
रिलायन्स फाइनान्सको राष्ट्रव्यापी उपस्थितिसँगै ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोका गाडीहरू फाइनान्सका लागि आवेदन दिन सक्छन् । यो पहलले खरिद प्रक्रियालाई सरल बनाउने मात्र होइन वातावरणीय रूपमा दिगो यातायात समाधानहरू अपनाउन पनि प्रोत्साहित गर्दछ ।
मिशन जेरो एमिसनको आफ्नो उद्देश्यसाथ दिगो ग्रुपले नेपालमा विद्युतीय सवारी साधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको छ । उनीहरूले नेपाली बजारमा विद्युतीय सवारी साधनको बिक्री, वितरण, सर्भिस र स्पेयर पार्टसका साथै दिगोमार्फतका अन्य संस्थाहरूले विद्युतीय सवारी साधन भाडामा दिने र चार्जिङ समाधानहरू उपलब्ध गराउँछ भने नेपाली राजमार्गमा विभिन्न स्थानमा दिगो ई-स्टपले सस्टेनेबल रेस्ट स्टपको स्थापना गर्दै आएको छ ।




















प्रतिक्रिया