काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जतिसक्दो ढिलो महाधिवेशन गर्ने दाउमा छन् ।
विधान अनुसार अब देउवा सभापतिको उम्मेदवार बन्न पाउने छैनन् तर पनि उनी आफूले छोडिरहँदा पार्टीमा आफ्नो पकड कायमै राख्ने दाउमा छन् ।
अहिलेको सरकारसँग भएको सहमतिअनुसार २०८३ को असारमा देउवा प्रधानमन्त्री हुने छन् ।
गत असार १७ गते सरकार निर्माणका लागि गरिएको सहमतिमा दुई वर्षपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने उल्लेख गरिएको छ ।
संविधानअनुसार संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ, देउवा दलका नेता हुन् । त्योबेला देउवा प्रधानमन्त्री हुँदा उनी छैठौं पटक प्रधानमन्त्री हुने छन् ।
कांग्रेसको महाधिवेशन २०७८ को मंसिरमा भएको थियो । महाधिवेशन भएको ४ वर्ष लागेको छ ।
विधानअनुसार ४ वर्षमा कांग्रेसको महाधिवेशन हुनुपर्ने हो तर कांग्रेसले महाधिवेशनको कुनै तयारी गरेको छैन त्यसो हुँदा समयमा पार्टीको महाधिवेशन हुन्छ भन्ने विश्वासिलो आधार छैन ।
विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न सकिने व्यवस्था छ ।
अहिलेसम्मका सबैजसो सभापतिले अन्तिम समयमा मात्रै आएर महाधिवेशन गरेका छन् त्यसैले पनि सभापति देउवाले पनि समयभर सभापति हुने दाउ गरेका छन् ।
विधान परिवर्तन भएन र आफू नै सभापति उठ्न नपाएको खण्डमा पनि देउवाले पार्टीमा आफ्नो पक्षलाई बलियो बनाउने निश्चित छ ।
उनले श्रीमती आरजु राणा देउवालाई अघि सारेका छन् । आरजु अहिले परराष्ट्रमन्त्री छिन् ।
मन्त्री भएपछि उनको उचाई बढेकाले पनि देउवाले अब जुनसुकै पदमा आरजुलाई अघि सार्दा पनि स्वभाविक हुने अनुमान गरिएको छ ।
देउवाले महाधिवेशन गराउने छाँटकाट नल्याउँदा गत महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर कोइरालाले भनें महाधिवेशनको लागि दवाव सिर्जना गरेका छन् ।
कोइराला समयमा नै महाधिवेशन हुनुपर्छ भन्ने लाइनमा अघि बढेका छन् । उनले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै आएका छन् ।
प्रधानमन्त्री भएपछि सबैलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने देउवाको चलख्याईलाई बुझेर नै कोइरालाले पार्टी नेतृत्वमाथि दवाव दिएको स्पष्ट हुन्छ।
पार्टीको महाधिवेशनलाई लिएरमात्रै होइन कोइराला त सरकारको विषयमा पनि नकारात्मक छन्।
उनी आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि आन्तरिक गृहकार्यमा पनि व्यस्त छन् ।
संसदीय दलको नेतासमेत हुने र प्रधानमन्त्री हुने लोभमा कोइरालाले देशव्यापी रुपमा अभियान नै चलाइरहेका खबर छलफल साप्ताहिकमा उल्लेख छ ।
कोइरालास्रोतका अनुसार देउवापक्षीय प्रभावशाली नेता पनि आफ्नो समूहमा आएका छन् ।
आगामी महाधिवेशनमा को कुन पदमा उम्मेदवार बन्ने भनेर त्यो समूहमा छलफल पनि थालिएको कोइरालाको सचिवालयले जनाएको छ ।
उनीहरु जसरी भए पनि आगामी महाधिवेशनमा देउवा पक्षलाई पारजित गरी आफ्नो वर्चश्व कायम राख्ने पक्षमा जुटिरेहका छन् तर देउवाले समयमा नै महाधिवेशन गराउने छनक नल्याउँदा कोइराला पक्ष हतारिएको छ ।




















प्रतिक्रिया