Logo

प्रमुख समाचार

नेपाली कांग्रेसका १४ पदाधिकारी को कता ?



काठमाडौँ । नेपाली कांग्रेसको विधानअनुसार चार-चार वर्षमा पार्टीको महाधिवेशन हुनुपर्छ। सोहीअनुसार कांग्रेसको १५ औँ महाधिवेशन हुने मिति ०८२ मंसिर हो। कांग्रेसले १४ औँ महाधिवेशन २०७८ मंसिरमा गरेको थियो। अहिले नेताहरू १५ औँ महाधिवेशनको तयारीमा लागिसकेका छन्।

१४ औँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित डा शेखर कोइराला फेरि उम्मेदवार बन्ने घोषणासहित देश दौडाहामा छन्। पार्टीमा अब देउवा सभापति बन्न नपाउने भएसँगै उनको समूहमा रहेका नेताहरू गुट परिवर्तनमा लागेका छन्। कांग्रेस पदाधिकारी १४ जना छन्।

यीमध्ये ६ जना कोइराला समूहमा रहेर आगामी महाधिवेशनमा होमिन तयार भएका छन्। ६ जनामध्ये ४ जना गुट परिवर्तन गरेर कोइरालाकहाँ पुगेका हुन्। ‘सभापतिमा शेरबहादुर दाइ फेरि लड्न नपाउने भएपछि उहाँको गुटमा रहेका नेताहरू शेखर दाइसँग नजिक हुन थालेका छन्,’ कांग्रेसका एक नेताले भने, ‘पार्टीका धेरै पदाधिकारी र उमेरले ६० काटेका नेताहरूले शेखरलाई सभापति मानेर हामी जान तयार छौँ भनेर सहयोग गर्न थाल्नुभएको छ।’

कांग्रेसका १४ पदाधिकारी (सभापतिले नियुक्त गर्ने कोषाध्यक्षसहित) मध्ये उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार १४ औँ महाधिवेशनमै कोइराला गुटबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्। उनीहरू अहिले पनि कोइराला गुटमै छन्। यहीबाहेक प्रकाशमान सिंह गुटबाट महामन्त्रीको उम्मेदवार बनेर निर्वाचित विश्वप्रकाश शर्मा पनि कोइरालासँगै रहने नेताहरू बताउँछन्।

शर्मा महाधिवेशनमा सिंहको समूहबाट महामन्त्री उम्मेदवार भए पनि उनले देउवासँग सम्बन्ध भने सुमधुर नै राखिरहेका थिए। १४ औं महाधिवेशनअघि उनै शर्मालाई देउवाले पार्टीको प्रवक्ताको जिम्मेवारी दिएका थिए। ‘विश्वप्रकाशजी र शेखरजी पटकपटक भेट गरेर एक खालको समझदारी गरिसक्नुभएको छ,’ कांग्रेसका अर्का नेता भन्छन्, ‘१४ औँ महाधिवेशनमा शेखरले आफ्नै टिममा सन्तुलन बनाउन नसक्दा आफू पनि पराजित हुनुभयो, विश्वप्रकाशलाई पनि आफ्नो टिममा राख्न सक्नु भएन।

तर, आज त्यसलाई सच्याएर शेखरले विश्वसँग छलफल गरेर सँगै जाने समझदारी गर्नुभएको छ।’ देउवा गुटबाट निर्वाचित सहमहामन्त्री भीष्मराज आङ्दम्बे पनि कोइराला समूहनिकट भएका छन्। उनले आफूनिकटहरूसँग भनेका छन्, ‘शेरबहादुर दाइ सभापति हुँदासम्म म उहाँसँगै छु। उहाँ सभापति नभएपछि म मेरो निर्णय आफैँ गरेर शेखर दाइलाई सहयोग गर्न जान्छु।’

आङ्दम्बे कोइराला सहभागी भएको कार्यक्रमहरूमा सहभागी हुन थालिसकेका छन्। महेन्द्र यादव देउवा समूहबाट उम्मेदवार बनेर सहमहामन्त्री निर्वाचित भएका हुन्। उनी पार्टीमा देउवाभन्दा पनि बालकृष्ण खाणनिकट नेता हुन्। खाण कोइरालासँग नजिक भएपछि उनी पनि कोइरालानजिक पुगेका छन्।

खाण शरणार्थी मुद्दाको पुर्पक्षका लागि थुनामा हुँदा कोइरालाले कारागार नै पुगेर तीनपटक भेटेका थिए। कोइरालाले सहमहामन्त्रीद्वय किशोरसिंह राठौर र महालक्ष्मी उपाध्याय ‘डिना’ सँग पनि निरन्तर कुरा गरिरहेका छन्। उनीहरूसँगको कुराकानी निर्णायक तहमा नपुगेको नेताहरूले बताएका छन्। शेखरनिकट एक नेताको भनाइ छ, ‘राठौरजीसँग पनि कुरा भएको छ। मिलेर जाने सम्भावना बढिरहेको छ। ‘

देउवा समूहमा रहेका अर्का नेता मोहनबहादुर बस्नेतले त कोइरालालाई आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारमा सहयोग गरी अघि बढ्ने अभिव्यक्ति दिन थालेका छन्। अहिले शेखर कोइरालाको देश दौडाहा र राजनीतिक खटाइ ठीक छ।’ उनले देउवापछिको नेतृत्वमा कोइरालालाई स्वीकार्ने पनि बताए।

१४औँ महाधिवेशनको पहिलो चरणमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङगरी ५ जना सभापतिका उम्मेदवार थिए। त्यसबेला रामचन्द्र-शेखर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र रामचन्द्र पौडेल मात्रै नभई कोइराला परिवारकै सदस्यहरू पूर्वमहामन्त्री शशांक कोइराला र नेता सुजाता कोइरालाले समेत देउवालाई साथ दिएपछि शेखरले हार बेहोर्नुपरेको थियो।

दोस्रो चरणको मतदानमा देउवा २७३३ मतका साथ सभापतिमा निर्वाचित हुँदा नेता कोइरालाले १८५५ मत पाएका थिए। यद्यपि, कोइराला टिमबाट गगन थापा लोकप्रिय मत पाएर महामन्त्री निर्वाचित भए। थापा अहिले कोइराला समूहमा छैनन्। उनी देउवा समूहमा प्रवेश गरी आफ्नै गुट निर्माणको प्रयासमा देखिएका छन्।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलवार ११:२३   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।