काठमाडौं । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक सभामा पेस गर्दैछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
तर, यही २४ गते स्थगित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन । स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसै गरी आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय (पहिलो संशोधन) विधेयक,२०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसका साथै बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक,२०८१ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसका साथै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।




















प्रतिक्रिया