Logo

प्रमुख समाचार

तत्काल संविधान संशोधन हुन नसक्ने : देउवाको अभिव्यक्तिपछि छटपटीमा दाहाल



काठमाडौं । माघ १८ गतेदेखि संघीय संसदमा दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकहरु सञ्चालन भएका छन् ।

हिउँदे अधिवेशन भएको हुनाले यस अधिवेशनलाई विधेयक अधिवेशन भने गरिएको छ । यो अधिवेशनले हालै सरकारले ल्याएका ६ वटा अध्यादेशलाई स्वीकृत गरि प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने मुख्य दायित्व रहेको छ ।

बैठक सुरु भएको पहिलो दिने नै राष्ट्रिय स्वतन्त्र पार्टीले आफैँ घोषणा गरेर १५ मिनेट बैठक बहिष्कार गरेको थियो भने माओवादी केन्द्र सहितका विपक्षी दलहरुले सरकारको चर्को आलोचना गर्दै अध्यादेशको विरोध गरेका थिए ।

अध्यादेश ल्याउन पाउने सरकारको अधिकार भएपनि सत्ता गुम्दाको पिडा माओवादी केन्द्रले त्यहाँ पोखेको थियो । विपक्षी दलहरुले सरकारको चर्को आलोचना गरेका थिए भने सत्ता पक्षीय सांसदहरुले सरकारको बचाउ गरेका थिए ।

यसरी बैठक सुरु भएकै दिन सत्ता पक्ष र विपक्षी दलहरुको जुहारी चलेको हुनाले हिउँदे अधिवेशनले पनि प्रभावकारी काम गर्न सक्नेमा आशंका उब्जिएको छ । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीचमा ७ बुँदे सहमति भएको थियो ।

त्यही सहमतिका आधारमा कांग्रेस एमालेको गठबन्धन सरकार निर्माण भएको हो भने सो गठबन्धनलाई जसपा नेपाल, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी समेत सरकारमा सहभागि भएका छन् भने जसपा नेपालले भने सरकारमा सहभागि नभएपनि सरकारलाई समर्थन गरेको छ ।

कांग्रेस र एमालेबीचमा भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख गरिएको भएपनि सरकारको पक्षमा राष्ट्रिय सभामा सरकारको पक्षमा सामान्य बहुमत समेत रहेको छैन ।
संविधान संशोधनका लागि दुवै सदनमा दुई तिहाई मतको आवश्यकता हुन्छ ।

प्रतिनिधिसभामा सरकारको पक्षमा दुई तिहाई मत रहेको छ भने राष्ट्रिय सभामा जम्मा ५९ सांसद मध्ये सरकारको पक्षमा २९ मात्र सांसद रहेकाले संविधान संशोधन गर्न माओवादी केन्द्रले सहयोग गर्नुपर्ने हुन्छ भने अन्य विषयहरु पारित गर्न समेत उपेन्द्र यादवको पार्टीले सहयोग गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय सभामा विपक्षी दल माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ र जनमोर्चाका एक सांसद रहेका छन् । राष्ट्रपतिबाट मनोनित भएका नारायण दाहाल अध्यक्ष रहेकाले उनले मत बराबरी भएमात्र मत दिन पाउने सम्वैधानिक व्यवस्था रहेको र वामदेव गौतम र अन्जन शाक्यले सरकारलाई सहयोग गरेपनि सामान्य बहुमतसम्म पुग्न सक्दैन ।

उपेन्द्र यादवको जसपाका ३ सांसदले सरकारलाई समर्थन गरेको खण्डमा सरकारका पक्षमा सामान्य बहुमतमा पुग्न सक्छ त्यसैले गर्दा विधेयकहरु पारित गर्न राष्ट्रिय सभामा जसपाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

संविधान संशोधन गर्न दुवै सदनले दुई तिहाई मतले पारित गर्नुपर्ने सम्वैधानिक व्यवस्था रहेको र कुनै एउटा संसदले दुई तिहाई मतले पारित गरेपनि अर्को सदनले पारित नगरेको खण्डमा त्यो पारित भएको पनि शुन्य अवस्थामै पुग्ने भएकाले संविधान संशोधन गरिहाल्न सक्ने अवस्था देखिँदैन ।

प्रमुख विपक्षी दल माओवादी केन्द्रले राष्ट्रियसभामा सरकारलाई समर्थन गरेको खण्डमा मात्र संविधान संशोधन हुन सक्छ । पछिल्लो समयमा माओवादी केन्द्रसहित अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली विरुद्ध आक्रामक अभिव्यक्ति दिँदै हिडेका हुनाले माओवादी केन्द्रले संविधान संशोधन गर्न राष्ट्रिय सभामा संविधान संशोधनका लागि समर्थन गर्न सक्ने सम्भावना न्यून रहेको छ ।

पुष्पकमल दाहाल सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसप्रति भन्ने नरम रहेका छन् । अभियान साप्ताहिकमा समाचार छ ।

दाहालले अहिले सत्ता गठबन्धनलाई तोड्न अनेक प्रयास गरिरहेका र प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुलाई समेत आफ्नो पक्षमा लिने रणनीतिक उदेश्य लिएर अघि बढेका भएपनि ८ वटा मधेशवादी दलहरुले मोर्चाबन्दी सरकार विरुद्ध नरहेको अभिव्यक्ति दिएपछि दाहाललाई झड्का लागेको छ ।

प्रतिनिधिसभामा रहेका एकीकृत समाजवादी, रास्वपा, राप्रपा र जनमोर्चालाई एकै ठाउँमा उभ्याएर आफ्नो स्वार्थ पूरा गर्ने उदेश्यले दाहाल अघि बढेका भएपनि उनीहरुसँग सरकार ढाल्ने संख्या नभएकाले गर्दा कांग्रेसप्रति नरम भएको सहजै अनुमान गर्न सकिन्छ ।

रास्वपा, राप्रपा सरकारको पक्षमा नजाउन् भनेर दाहाल सहकारी ठगी प्रकरणमा मुछिएका रविका पक्षमा अभिव्यक्ति दिँदै हिडेका र रविलाई सरकारले प्रतिशोध लिएको आरोप समेत सरकारमाथि लगाउँदै आएका छन् ।

यसैबीचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म रहिरहने प्रष्ट पारेपछि दाहाललाई झड्का लागेको छ । देउवाले अहिलेको सत्ता गठबन्धनमा कुनै समस्या नभएको र समस्या भए बैठक बसेर समाधान गर्ने अभिव्यक्ति दिएपछि दाहाललाई छटपटी बढेको हो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार ०८:००   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।