Logo

प्रमुख समाचार

सर्वोच्चले प्रधानमन्त्री ओलीलाई सोध्यो-‘अवहेलनामा तपाईलाई कारबाही किन नगर्ने ?’



काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउँदै प्रधानमन्त्रीका नाममा पनि कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं भूमिव्यवस्था मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धुको मुद्दामा भएको फैसला कार्यान्वयनको साटो हदबन्दी खुकुलो हुने गरी अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री केपी ओली लगायतमाथि अवहेलना कारबाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले लिखित जवाफ माग्नुका साथै सम्बन्धित मुद्दाको फाइल पनि साथै राख्न आदेश दिएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार १७:१८   :  बजे

462
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।