Logo

पत्रपत्रिका

गभर्नरमा नयाँ ट्विस्ट, टेरामक्समा अख्तियारको पक्षपात



काठमाडौं । पदावधि सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी प्रावधान रहे पनि रिक्त रहेको डेढ महिना बितिसक्दा पनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न नसक्दा सरकारको तीव्र आलोचना भइरहेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. गुणाकर भट्टको चर्चा चले पनि काम गभर्नर निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसको सिफारिसमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम गभर्नरका लागि चर्चामा आएको छ ।

गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्यसमेत रहेका पौडेलले समितिबाट राजीनामा समेत दिइसकेका छन् । पौडेलको राजीनामापछि समितिमा डा. पोषराज पाण्डे नियुक्त भएका छन् । यसअधि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य थिए।

समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारी नियुक्त भएका थिए। यसैगरी डा. पौडेलले पनि समितिबाट राजीनामा दिएपछि पाण्डेलाई नियुक्त गरिएको हो । सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेको बुझिएको छ ।

भट्टको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले गभर्नरका लागि विकल्प खोजेको हो। चैत २४ गते गभर्नरबाट महाप्रसाद अधिकारी सेवानिवृत्त भएको नौ दिनपछि वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउने सहमति भएको थियो ।

त्यसपछि वैशाख ५ गते भट्टले नेपाल राष्ट्र बैकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, गभर्नरको दौडमा रहेकी कायम मुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले विकल्प खोजेको हो ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका रहने राष्ट्र बैंकको गभर्नर रिक्त रहँदा मौद्रिक नीति निर्माणलगायतका विषयमा असर परिरहेको छ । डेढ महिनासम्म पनि गभर्नर नियुक्ति हुन नसक्नु लज्जाको विषय भएको स्वयं सत्तारुढ दलका नेताहरूले बताउन थालेका छन्।

मौद्रिक नीति निर्माण गर्ने र वित्तीय क्षेत्रको नियमन गर्ने राष्ट्र बैंकलाई लामो समयसम्म नेतृत्वविहीन बनाउँदा यसले समग्र मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले तत्काल गभर्नर नियुक्ति गर्नुपर्ने आवाज उठिरहेको छ।

टेरामक्समा अख्तियारको पक्षपात

नेपाल दूरसञ्चार प्राधिकरणबाट टेरामक्स प्रविधि (टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्यो ।

आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीवार विशेष अदालतमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको छ । जसअनुसार प्रतिवादीहरूबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

सांसद मोहन बस्नेतसहित नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद बस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक सन्दीप अधिकारीलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ ।

पूर्व सञ्चारमन्त्रीद्वय गोकुल बाँस्कोटा र ज्ञानेन्द्र कार्कीविरुद्ध मुद्दा दायर नगर्नुलाई भने अख्तियारको राजनीतिक पक्षपात र पूर्वाग्रही व्यवहारको रूपमा सार्वजनिक टीकाटिप्पणी भइरहेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मापन गरी राजस्व चुहावटको निगरानीका लागि भन्दै सरकारले टेरामक्स स्थापना गर्ने नीति लिएको हो ।
टेरामक्स प्रविधिबाट सेवाको गुणस्तरका साथै आपराधिक क्रियाकलापको निगरानी समेत गर्न सकिने दावी सरकारको छ ।

दूरसञ्चार सेवा दिने नेपाल टेलिकम, एनसेल जस्ता अपरेटरहरूको प्रणालीमा जडान गरी कुनै नियन्त्रण कक्षबाट अनुगमन गर्न मिल्ने यो प्रणालीबाट दूरसञ्चार कम्पनीहरूको घट्दो राजस्वको कारण पत्ता लाग्ने, सेवाको गुणस्तर बढ्ने र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (कल बाइपास) नियन्त्रण हुने दूरसञ्चार प्राधिकरणको बानी थियो ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहन बस्नेतले असोज, २०७४ मा टेराक्स प्रणाली खरिदको प्रक्रिया अघि बढाएको देखिन्छ । प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले प्रक्रिया अघि बढाए । आफूले मात्रै निर्णय गरेमा जोखिम हुने आकलनका साथ ‘उनले नेपालमा टेरामक्स प्रणाली आवश्यक छ’ भनी मन्त्री बस्नेतलाई नीतिगत निर्णय गर्न लगाए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहन बस्नेतले टेरामक्स प्रणाली स्थापना गर्ने नीतिगत निर्णय गरेपछि भोलिपल्ट (१८ असोज २०७४) मा नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालक समिति बैठकबाट ‘टेरामक्स प्रणाली राख्ने काम अघि बढाउने’ भनेर निर्णय गरेको थियो ।

मोहन बस्नेतपछि मन्त्री बनेका गोकुल बास्कोटाले २५ करोड रुपैयाँ परिचालनका लागि स्वीकृति माग भएकोमा ७० करोड रुपैयाँ परिचालन गर्न दिने निर्णय गरेका थिए बास्कोटाका पालामा निर्णय हुँदा महेन्द्रमान गुरुङ सञ्चार मन्त्रालयका सचिव थिए।

उनले अघि बढाएको फाइलमा टेरामक्स प्रविधिका बारेमा कुनै राय भने थिएन । बजेट अनुमोदन भएपछि टेन्डर अघि बढ्यो । प्रतिस्पर्धामा रहेका र तुलनात्मक रूपमा मितव्यायी बजेटको प्रस्ताव गरेका कम्पनीहरूलाई सुरुमै प्राविधिक रूपमा अयोग्य बनाई प्रतिस्पर्धाबाट बाहिर राखियो ।

४ कम्पनीको प्रतिस्पर्धामा लेबनानको भेन्राइज सोलुसन्स नामक अफसोर कम्पनीले टेन्डर पाउने निश्चितजस्तै बनेको थियो। यसबारे उजुरी परेपछि अख्तियारले २९ वैशाख २०७६ मा सीमित कम्पनीहरूले मात्रै प्रतिस्पर्धा गरेको भन्दै त्यो टेन्डर प्रक्रिया रद्द गर्यो ।

टेरामक्सको टेन्डर आफूलाई परेकाले ठेक्का पाउने हकबाट आफू वञ्चित भएको भन्दै लेवनानको भेन्राइज सोलुसन्स सर्वोच्च अदालत गयो। भेन्राइज सोलुसन्सका तर्फबाट अधिवक्ता कैलाश पाण्डे सर्वोच्च अदालत पुगे।

सर्वोच्च अदालतमा दुई वर्षसम्म अल्मलिएको मुद्दामा तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की र डा. मनोज शर्माको इजलासले असार, २०७७ मा निर्णय सुनाउने आदेश समेत गरेको थियो।

तर, पछि उनीहरूले पनि मिसिल झिकाउने आदेश गरेर मुद्दाबाट अलग हुने बाटो रोजे । अन्ततः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डा. कुमार चुडालको इजलासले टेन्डर रद्द गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय बदर गर्न आदेश दिएको थियो ।

दूरसञ्चार प्राधिकरणले अदालतको फैसला कार्यान्वयन गर्ने नाममा टेरामक्स खरिदको प्रक्रिया फेरि अघि बढायो । उसले ७० करोड बजेट आवश्यक पर्ने भन्दै पूरक बजेट अनुमोदनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठायो ।

उपसचिव मुकुन्द निरौलाबाट अघि बढेको प्रक्रिया सहसचिव विनोदप्रकाश सिंह हुँदै सचिव डा. बैकुण्ठ अर्यालबाट मन्त्री ज्ञानेन्द्र कार्कीसमक्ष पुग्यो र उनले बजेट स्वीकृत गरे । त्यसपछि प्राधिकरणले टेन्डर प्रक्रिया अघि बढाएको हो ।

दूरसञ्चार प्राधिकरणले नागरिकको गोप्य विवरणमा पहुँच राख्न पाउनेगरी टेरामक्स प्रणाली स्थापना गरेको थियो । टेरामक्सबाट कुनै पनि नागरिकको कल रेकर्ड नहुने प्राधिकरणको दावी छ ।

तर उसले सञ्चार मन्त्रालयलाई गरेको एक गोप्य पत्राचारमा भने नागरिकको फोन कल विवरण, म्यासेज र लोकेसन जस्ता विषयमा पहुँच राख्नु राज्यको निकायको अधिकार नै हुने भनी नागरिकको गोप्य विवरणमा आफ्नो पहुँच हुने विषय स्वीकारेको छ ।

टेरामक्स खरिद प्रक्रियामा जोडिएका मन्त्री र सचिवहरू यही कारणले विवादमा परेका हुन् । ११ पुस, २०८० मा संसद्को सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिदबारे १२ बुँदामा प्रश्न उठाई त्यसबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको थियो ।

लेखा समितिले ११ पुसमा गरेको निर्णयअनुसार,टेन्डरको कागजात बनाउने कम्पनीको प्रतिनिधिलाई नै पछि प्रतिस्पर्धामा भाग लिन दिइएको छ । टेन्डर मूल्यांकनका दौरान प्राविधिक पाटोलाई बढी अंक दिएर आर्थिक पाटोलाई कम अंक दिइएको छ, जसले गर्दा कम रकममा ठेक्का प्रस्ताव गर्नेले समेत ठेक्का नपाएको अवस्था थियो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्का दिने भनिए पनि ५१ प्रतिशत रकम भुक्तानी नेपाली मुद्रा नेपालमै भुक्तानी गर्ने भनिएको थियो । परिवर्तित नेपाली विनिमय दर अनुसार भुक्तानीको सम्झौता गर्दा नेपाल दूरसञ्चार प्राधिकरणलाई कम्तीमा ५० करोड रुपैयाँ नोक्सानी भएको लेखा समितिको पत्रमा उल्लेख छ।

लेखा समितिले विद्युतीय टेन्डर प्रक्रियामा नगएकोमा समेत प्रश्न उठाएको छ । टेरामक्स खरिदको प्रक्रिया अघि बढाउनेमा तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेत हुन् । तत्कालीन सञ्चार सचिव महेन्द्रमान गुरुङले टिप्पणी समेत नउठाएको विषयमा उनले ठाडो निर्णय गरी टेरामक्स खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए ।

त्यसपछि ७० करोड बजेट स्वीकृतिको विषयमा मन्त्री गोकुल बास्कोटा र सचिव महेन्द्रमान गुरुङ जोडिएका छन् । रोकिएको ठेक्का प्रक्रिया सर्वोच्च अदालतको आदेश भन्दै अघि बढाइएको थियो। दूरसञ्चार प्राधिकरणले पूरक बजेट माग गरेपछि फाइल अघि बढाउने काममा तत्कालीन सहसचिव (केही दिनअघि अवकाश पाएका सचिव विनोदप्रकाश सिंह) संलग्न थिए।

तत्कालीन सञ्चार सचिव (पूर्वमुख्यसचिव) बैकुण्ठ अर्याल र तत्कालीन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्णय प्रक्रियामा जोडिएका खबर देशान्तरमा उल्लेख छ ।

टेरामक्स खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल पनि मुछिएका छन् । अनुसन्धानका दायरामा प्राधिकरणको सञ्चालक समितिका पदाधिकारीहरू सहित केही प्राविधिक कर्मचारी समेत परेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार २२:२०   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।