काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन बैंक लिमिटेडको संस्थापक सेयर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले बैंकमा रहेको पाकिस्तानी वित्तीय संस्था हबिब बैंक लिमिटेडको १२.९३ प्रतिशत स्वामित्वका सेयर खरिद गर्न लागेको हो ।
कम्पनीको वार्षिक साधारणसभामा कम्पनीको लगानी विविधिकरणबारे उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष शेखर गोल्छाले सेयरधनीलाई यसबारे अवगत गराएको साधारणसभाको ‘माइन्युट’मा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजको दर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल बढाउने तथा लगानी विविधिकरण गर्ने अभिप्रायका साथ हिमालयन बैंकको मुख्य लगानीकर्तामध्ये हबिब बैंकको सेयर कम्पनीले खरिद गर्ने प्रक्रिया सुरु गरेको र सम्पन्न हुने क्रममा रहेको गोल्छाले जानकारी गराएका थिए ।
हिमालयन रिले हबिब बैंकको स्वामित्व रहेको संस्थापक सेयर प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसाको दरमा खरिद गर्न लागेको हो । यस सेयर खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको र चाँडै सम्पन्न हुने जानकारी सभामा दिइएको छ ।
यसैगरी कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पुनः पेश गरिसकेको छ । स्वीकृति प्राप्त भएपश्चात मात्रै सो प्रस्ताव साधारणसभामा प्रस्तुत गरिने र त्यसपश्चात हकप्रद सेयर जारी प्रक्रिया अघि बढाइने बताइएको छ ।




















प्रतिक्रिया