Logo

खेलकुद

एनपीएल–३ को उद्घाटन खेलमा लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिम ८७ रनमै समेटियो



साविक विजेता टोली लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनको उद्घाटन खेलमा विजयी शुरुवात गरेको छ । लुम्बिनीले गत सिजनको फाइनलमा पनि हराएको टोली सुदुरपश्चिम रोयल्समाथि  ७ विकेटको फराकिलो जित हात पारेको हो । मात्र ८८ रनको लक्ष्य लुम्बिनीले केबल ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर भेटायो।

लुम्बिनीका लागि ओपनर डी आरसी शर्ट र आसिफ शेखले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए । सर्ट ४० रनमा अनिल खरेलको बलमा आउट भए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर आसिफ ३२ रन बनाएर अनिलकै बलमा आउट भए। उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरे।

सुदूर पश्चिमका लागि अनिल खरेलले २ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ दशमलव २ ओभरमा मात्र ८७ रनमा समेटियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २७ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गरेनन् । उसका अनिल खरेलले १५ र जाइबले १३ रन बनाए ।

सुदूरपश्चिमलाई धरासायी बनाउन लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए ।

हार पछि सुदूरपश्चिमका मूख्य प्रशिक्षक सिमबाह उल हकले स्लो पिच हुनु र ब्याटरले राम्रो साझेदारी गर्न नसकेका कारण हार्नुपरेको भन्दै आगामी खेलमा प्रदर्शन सुधार्ने बताए ।

त्यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रतियोगिताको उद्घाटन गरेका थिए । त्यसपछि पनि उनी मैदानमै बसेर खेल हेरेका थिए ।

प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज खेल्नेछन् । यो खेल दिउँसो साढे १२ बजे शुरु हुनेछ । यस्तै साँझ ५ बजे शुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्नेछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार २१:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।