राजधानीका १९ वटा सार्वजनिक स्थलमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनमा आएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपति मन्दिर क्षेत्र, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र अन्य सार्वजनिक स्थानमा इन्टरनेट पहुँच विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार यसअघि वाइफाइ सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार र क्षमता अभिवृद्धि गरिएको छ भने आठ नयाँ स्थानमा नयाँ जडान गरिएको छ। नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन विमानस्थलमा नयाँ वाइफाइ सेवा सञ्चालनमा आएको छ।
यससँगै ठूलोभ¥याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा विस्तारको काम भइरहेको छ। भक्तपुरको राधेराधेस्थित कार्यालयमा पनि नयाँ जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीबीचको सहकार्यमा निःशुल्क वाइफाइ स्थापनाका काम सम्पन्न भएका हुन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा सेवा विस्तार गरिएको हो।
वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल हृदय केन्द्र, सिभिल अस्पताल, ट्रमा सेन्टर, पाटन अस्पताल, माथेमा उपचार केन्द्र र पशुपति क्षेत्रका वाइफाइ सेवा १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस बनाइएको छ।
नेपाल टेलिकमले निकट भविष्यमा देशभरका ३५ विमानस्थलमा पनि निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने तयारी गरेको छ। भक्तपुर क्यान्सर अस्पतालमा छ र कीर्तिपुर अस्पतालमा पाँच एक्सेस प्वाइन्टसहित नयाँ सुविधा उपलब्ध गराइएको छ।





















प्रतिक्रिया