सिरहाको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्याससँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक सहर बनाउने लक्ष्यमा यो परियोजना महत्त्वपूर्ण कदम भएको बताए ।
करिब ५० लाखको लागतमा निर्माण हुने यो शौचालय यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । लहानमा बढ्दो जनघनत्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दैनिक रूपमा हुने यात्रुको चापलाई धान्न वर्षौंदेखि पर्याप्त र आधुनिक सार्वजनिक शौचालयको अभाव रहेको थियो ।
शिलान्यास समारोहमा नगरप्रमुख चौधरीले भने, ‘यहाँ सार्वजनिक शौचालयको आवश्यकता अत्यन्तै बढेको छ । अब हामी सर्वसुलभ, सुरक्षित र सुविधायुक्त संरचना निर्माण गर्दैछौँ ।’
अत्याधुनिक प्रविधियुक्त ‘स्मार्ट शौचालय’ बन्ने यस संरचनामा महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच हुने व्यवस्था राखिने चौधरीले बताए । उनले भने, ‘यो शौचालय लहानका लागि नमूना संरचना बन्नेछ । चमेनागृह र स्तनपान कक्षदेखि सेनेटरी प्याड भण्डारणसम्मका सुविधा एउटै स्थानमा उपलब्ध गराइनेछ ।’
शौचालयको माथिल्लो तलामा कफी सप सञ्चालन गरिनेछ भने भुइँतलामा आधुनिक सुविधासहितको चारपाङ्ग्रे सवारी धुने केन्द्र निर्माण हुनेछ । साथै एक भागमा विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’समेत रहनेछ, जसले भविष्यमा बढ्दै गएको विद्युतीय सवारीको प्रयोगलाई सहयोग गर्नेछ ।
लहानका दलित तथा मुसहर समुदाय बहुल क्षेत्रमा विगतदेखि नै सरसफाइ चुनौतीपूर्ण रहेको आएको छ । दलित जनकल्याण युवा क्लबले नगरका विभिन्न स्थानमा करिब १५ वटा सामुदायिक शौचालय निर्माण गरिसकेको भए पनि कमजोर व्यवस्थापनका कारण तीमध्ये कतिपय प्रयोगविहीन हुने स्थितिमा पुगेका छन् ।




















प्रतिक्रिया