काठमाडौं । जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिहरूसँग राजनीतिक तथा सार्वजनिक व्यक्तित्वहरूको बढ्दो निकटताप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यस्तो प्रवृत्तिले राजनीतिक नेतृत्वको नैतिकता, विश्वसनीयता र दोहोरो चरित्र उजागर गरेको भन्दै कडा प्रश्न उठाएका हुन्।
सहनीले सार्वजनिक रूपमा आक्रोश व्यक्त गर्दै भने, “हत्यारासँग एउटै मञ्चमा बसेर खुला बहस गर्न नसकिने हो भने सहकारी ठगसँग अँगालो हानेर सँगै हिँड्नु के हो? यसको जवाफ जनता जान्न चाहन्छन्।”
उनका अनुसार सहकारी ठगीजस्ता आर्थिक अपराधले हजारौँ सर्वसाधारणको बचत, विश्वास र भविष्यमा गहिरो चोट पुर्याएको छ। यस्तो संवेदनशील र गम्भीर मुद्दामा मौन बस्नु वा आरोपित व्यक्तिहरूसँग सार्वजनिक रूपमा नजिकिनु पीडितहरूप्रति अन्याय र अपमान सरह भएको उनले बताए।
प्रधानमन्त्रीको उम्मेदवारसमेत जनताका प्रश्नबाट पन्छिनु नेतृत्वप्रतिको आशा कमजोर बनाउने कार्य भएको सहनीको भनाइ छ। उनले चेतावनी दिँदै भने, जवाफदेहीताविहीन गतिविधिले देशलाई थप संकटतर्फ धकेल्न सक्छ, जबकि पारदर्शिता र जवाफदेहीताले मात्र असल नेतृत्व जन्माउँछ।
अभियन्ता सहनीले राजनीतिक नेतृत्वलाई अपराध र अपराधीसँग स्पष्ट दूरी कायम गर्न, सहकारी पीडितहरूप्रति जिम्मेवार बन्न र आफ्नो नैतिक दायित्व निर्वाह गर्न आग्रह गरेका छन्। उनले यस्ता गतिविधि निरन्तर रहिरहे जनआक्रोश बढ्ने र सार्वजनिक विश्वासको संकट अझ गहिरिने चेतावनी पनि दिएका छन्।
यस विषयमा सम्बन्धित नेताहरू वा सहकारी ठगी प्रकरणमा आरोपित पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।





















प्रतिक्रिया