काठमाडौं । राष्ट्रिय सभामा फागुन २० गते कार्यकाल सकिन लागेका सांसदहरूले सोमबारबाट बिदाइ सम्बोधन गर्ने भएका छन्। सोमबार बस्ने बैठकमा सांसदहरूले सभामा आफ्ना अनुभूति राख्ने कार्यसूची तय गरिएको छ। आवश्यक परे माघ २८ गतेको बैठकमा समेत यो क्रम जारी रहनेछ।
यसपटक १९ जना सांसदको कार्यकाल सकिन लागेको छ। तीमध्ये वामदेव गौतमले राजीनामा दिइसकेका छन् भने नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्। बाँकी १६ जना सांसदले बिदाइ सम्बोधन गर्नेछन्।
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएकाले राष्ट्रिय सभाको अधिवेशन अन्त्यको तयारी गरिएको हो। निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन एकसाथ सुरु हुने गरी सरकारले आगामी चैत १ गतेदेखि नयाँ संसद् अधिवेशन बोलाउने तयारी गरेको छ।
संसद् सचिवालयका अधिकारीहरूका अनुसार सरकारले तय भएको भन्दा थप बैठक नराख्ने गरी व्यवस्थापन गर्न सरकारले सन्देश पठाएको छ। त्यसअनुसार संसद सचिवालयले कार्यसूची तय गरेको हो।





















प्रतिक्रिया