Logo

समाचार

चितवनका चुनावी मुद्दा : निकुञ्ज, नदी कटान र पूर्वाधार



चितवन । दुर्लभ वन्यजन्तु बाघ, गैंडाको बासस्थल चितवन राष्ट्रिय निकुञ्ज, माछा, कुखुरा, दूध, तरकारी उत्पादन जस्ता कृषि उद्यमले अर्थतन्त्र उकासेको, शैक्षिक स्तर र सामाजिक तथा राजनैतिक चेतना राम्रो भएको जिल्ला मानिन्छ चितवन । जसरी यहाँ सम्भावना अनेक छन् चुनौती र समस्याका चाङ पनि उत्तिकै छन् ।

दुईवटा मेडिकल कलेज, भरतपुरको सरकारी अस्पताल र बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालका कारण चितवन स्वास्थ्य उपचारमा देशभर चिनिएको छ ।

तत्कालीन रामपुर कृषि क्याम्पस र हालको कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षा क्षेत्रमा पनि चितवनलाई उचाइ दिलाएको छ । तर वन्यजन्तु समृद्धिसँग मात्रै हैन पीडासँग पनि जोडिएका छन् । बर्खामा नदी र खोलासँगै त्रास पनि बढ्छ ।

खोलैखोला र चितवन निकुञ्जको आडमा रहेको माडी नगरपालिका–१ मा पर्ने पाण्डवनगर गाउँमा जंगली जनावर र बाढीले स्थानीयलाई दिएको पीडा प्रस्ट देखिन्छ ।

पाण्डवनगर र आसपासका गाउँ वनकट्टा, द्रोपतिनगर चितवनको मैदानी भेगका आदिवासी बोटे समुदायको बसोबास क्षेत्र हो । यहाँ बोटेहरू पहिल्यैदेखि बस्दै आए । २०२२ सालपछि पहाडी क्षेत्रबाट पनि अन्य समुदाय आएर बसे ।

पाण्डवनगरमा कक्षा एकदेखि पाँचसम्म पढाइ हुने स्कुल २०४४ सालमा स्थापना भयो । नजिकै रिउ खोला थियो । बर्सेनि कटान गर्दै आएको रिउ खोलाले स्कुललाई असर गर्ने खतरा थियो ।

त्यसैले २०५२ सालमा अलि सुरक्षित ठाउँमा जग्गा किनेर स्कुल सार्ने काम गरिएको बताउँछन् प्रधानाध्यापक तुलबहादुर नेपाली । स्कुल बाढीबाट त सुरक्षित भयो तर बसाइँसराइको प्रभावबाट भने जोगिएन ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार ०७:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।