Logo

राजनीति

भूईँले रुचाएका भूमि त्रिपाठी



धादिङ । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै गर्दा धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमाले सबैभन्दा बलियो शक्तिका रूपमा देखिन थालेको छ। विशेषगरी एमालेका नेता भूमिप्रसाद त्रिपाठी उम्मेदवार बनेपछि पार्टीको माहौल थप तातेको छ।

काँग्रेस, माओवादी र समाजवादीको महागठबन्धन बनेको अवस्थामा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठीले करिब २८ हजार मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए। त्यो परिणामलाई आधार मान्दा एमालेको मताधार यस क्षेत्रमा मजबुत रहेको स्पष्ट हुन्छ। त्यसयता संगठनलाई थप सक्रिय बनाउँदै एमालेले वडा–टोल तहसम्म संगठन विस्तार र सुदृढीकरणमा जोड दिएको छ, जसले पार्टीको अवस्था अझ सुदृढ भएको स्थानीय नेता–कार्यकर्ताहरूको दाबी छ।

एमालेको सबैभन्दा ठूलो शक्ति यसको अनुशासित संगठन, स्पष्ट राजनीतिक लाइन र स्थायी मतदाता आधार मानिन्छ। धादिङ–१ का अधिकांश ग्रामीण भेगमा एमालेको पकड मजबुत रहेको बताइन्छ भने पछिल्लो समय युवापुस्तामाझ पनि पार्टीको प्रभाव विस्तार हुँदै गएको देखिन्छ।

भूमिप्रसाद त्रिपाठी यस क्षेत्रका लागि एमालेभित्र उपयुक्त र लोकप्रिय पात्र भएको भन्दै स्थानीय कमलबहादुर कार्कीले उनको जित सहज हुने दाबी गर्छन्। लामो समयदेखि स्थानीय तहमा सक्रिय रहँदै आएका त्रिपाठीको पहिचान, पहुँच र संगठनात्मक पकड नै उनलाई बलियो बनाउने आधार रहेको उनीहरूको भनाइ छ।

‘भुइँमान्छेसँग बसेर उनीहरुकै मुद्दा उठाउने नेताका रूपमा त्रिपाठी चिनिनुहुन्छ,’ अर्का मतदाता रमेश लामा भन्छन्, ‘त्यसैले उहाँप्रति जनताको भरोसा बढ्दो छ ।’

अर्कोतर्फ, प्रतिस्पर्धी दलहरू आन्तरिक समन्वय, उम्मेदवार चयन र संगठनात्मक कमजोरीसँग जुधिरहेका बेला एमाले भने एकजुट भएर निर्वाचन तयारीमा जुटेको देखिन्छ । केही प्रतिस्पर्धी उम्मेदवारहरू पटक–पटक अवसर पाइसकेका अनुहार भएका कारण मतदातामा वैकल्पिक सोच बढेको आकलन पनि गरिएको छ ।

यी सबै परिदृश्यलाई हेर्दा २०८२ को निर्वाचनमा धादिङ–१ मा एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीको पक्षमा माहोल बन्दै गएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १४:४१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।