काठमाडौं । इनाम सापकोटाको बरामद मोबाइल फोनको फरेन्सिक परीक्षण रिपोर्टलाई उद्धृत गर्दै सार्वजनिक भएको विवरणप्रति नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटीले टिप्पणी गरेका छन्।
सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमार्फत फरेन्सिक परीक्षणमा देखिएको मोबाइलको लोकेसन र त्यससँग जोडिएका गतिविधिबारे सार्वजनिक चासो बढेको भन्दै नागरिकलाई सुसूचित गराउने आफ्नो दायित्वबाट पछि नहट्ने बताएका हुन्।
सेतोपाटीले प्रकाशित गरेको समाचारअनुसार फरेन्सिक परीक्षण रिपोर्टमा अक्टोबर २ को राति सवा ९ बजेतिर इनाम सापकोटाको बरामद मोबाइलको लोकेसन २७।६८४९२२ डिग्री उत्तरी अक्षांश र ८५।३२१२९३ डिग्री पूर्वी देशान्तरमा देखिएको उल्लेख छ। उक्त लोकेसन गुगल म्यापमा हेर्दा ललितपुरको ज्वागलस्थित गणेश मन्दिर नजिकको क्षेत्र देखिने समाचारमा जनाइएको छ।
उच्च प्रहरी स्रोतलाई उद्धृत गर्दै सेतोपाटीले उक्त क्षेत्रमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निजी निवास रहेको दाबीसमेत गरेको छ।
समाचारमा उल्लेख भएअनुसार प्रहरीको नियन्त्रणमा मोबाइल नरहेको अवधिमा उक्त फोनबाट ह्वाट्सएप र फेसबुक सञ्चालन गरिएको तथा मोबाइलमा रहेका विभिन्न सामग्रीका स्क्रिनसट लिइएको फरेन्सिक परीक्षणबाट देखिएको छ। मोबाइलमा रहेका केही सन्देश मेटाइएको पनि परीक्षणमा भेटिएको र तीमध्ये केही सापकोटा र बेनबीच आदानप्रदान भएका सन्देश रहेको स्रोतको दाबी छ।
यही विषय नागरिकमाझ पुर्याउँदा सत्ता निकट केही व्यक्तिहरूलाई असह्य भएको टिप्पणी गर्दै सिवाकोटीले लेखेका छन्, ‘जसले जेसुकै भनुन् हामी नागरिकलाई सुसूचित गर्ने कर्म जारी राख्छौं।’
उनले सत्ता निकट व्यक्तिहरूको आलोचनाले आफूहरू पछि नहट्ने संकेत गर्दै नागरिकलाई सूचना दिने काम निरन्तर जारी राख्ने बताएका छन्।
मोबाइलको लोकेसन, प्रहरी नियन्त्रणबाहिर रहेको अवधिमा भएको डिजिटल गतिविधि र मेटिएका सन्देशबारे सार्वजनिक विवरणले थप प्रश्न खडा गरेको छ। यद्यपि, यी विवरण र आरोपको स्वतन्त्र पुष्टि तथा सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक हुनु आवश्यक देखिन्छ।





















प्रतिक्रिया