नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको प्ले अफ होड अझ रोचक भएको छ । आजको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेसँगै जनकपुर र कर्णाली याक्सको प्ले अफ होड समाप्त भएको हो ।
आजको खेल जितेको भए पनि जनकपुरको प्ले अफ यात्रा अन्य टोलीको आफु अनुकुल नतिजामा मात्र सम्भव थियो । पोखरा भने यस अघि नै प्ले अफको होडबाट बाहिरिसकेको थियो।
आज चितवनले मात्र ८९ रनको लक्ष्य पाएको थियो । तर यो सामान्य जस्तो लाग्ने लक्ष्य भेटाउन पनि चितवनले १७ ओभर २ बलसम्म खेल्नुपर्यो र उसले ६ विकेट गुमायो ।
जनकपुरले कसिलो बलिड गर्दै २८ रन जोड्दा चार विकेट गुमाएको अवस्थामा पुर्याउँदै चितवनमाथि दबाब बढाएको थियो तर लक्ष्य सानो रहेको र विकेट पतन लगालग नभएको कारण चितवन विजयी भयो ।
चितवनको जितमा डेविड मलानले अविजित ३५ रन बनाए। यस्तै, कुशल मल्लले १५ र रवि बोपाराले १३ रनको योगदान गरे । मलान र कुशलले छैटौं विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी गरेसँगै चितवन जीततर्फ अग्रसर भएको थियो ।
जनकपुरका स्टार युवा बलर राहुल यादवले ३ विकेट लिए भने ललित राजवंशीले २ तथा विशाल सुस्लिङले १ विकेट लिए । एकै खेलमा ४ विकेट लिएर सनसनी मच्चाएका जनकपुरका कप्तान हरमित सिंहले आज आशा अनुसारको प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै जोड्न सकेको थियो । जनकपुरका कप्तान सिंहले सर्वाधिक २५ रन बनाए। जनकपुरले पावरप्लेमा मात्र २२ रन जोड्दा ३ विकेट गुमाएको थियो ।
चितवनका रञ्जित कुमारले मात्र २ रन दिएर ३ विकेट लिए। भने सिकन्दर राजा र कमिल मिश्राले २–२ विकेट लिएसँगै जनकपुरले तीन अंकको आँकडा पनि पूरा गर्न सकेन ।
यो नतिजासँगै अब विराटनगर, चितवन र काठमाडौँमध्ये २ टोली प्ले अफमा पुग्नेछन् ।
अब एक खेल खेल्न बाँकी रहेको काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ भने चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन्। अब चितवन र विराटनगरले अन्तिम खेल जित्नुपर्ने दबाब छ ।
अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन्। तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ।
काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ। काठमाडौं पराजित भए पनि उसको प्ले अफ सम्भावना कायम रहनेछ। विराटनगरका लागि जित तथा चितवन र काठमाडौँको हार भएको अवस्थामा मात्र प्ले अफ निश्चित हुने छ ।
यसरी प्ले अफका लागि बाँकी खेल झन् रोमाञ्चक हुने समिकरण देखिएको छ । यसअघि लुम्बिनी र सुदूरपश्चिम प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन् ।





















प्रतिक्रिया